किन ढिलाइ भइरहेको छ माथिल्लो तामाकोशीको काम ?

पोखरा न्यूज – ०९ ,मंसिर । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा अपेक्षाकृत गति पैदा हुन नसकेपछि सरकारले चासो व्यक्त गरेको छ । भारत भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कम्पनी टेक्सम्याकोकामा उच्च अधिकारीसँग छलफल गरेका छन् ।

राष्ट्रिय गौरवका रुपमा रहेको आयोजनाको निर्माण प्रक्रियाले अपेक्षाकृत रुपमा गति लिन नसकेपछि उच्च सरकारी नेतृत्वले नै निर्माण व्यवसायीको प्रधान कार्यालय कोलकाता पुगेर छलफल गरेको हो । आयोजनाको सबैभन्दा जटिल मानिएका २ वटा ठूला सुरुङको काम हाल जारी छ । तर अपेक्षाकृत रुपमा काम हुन सकेको छैन ।

अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले जिम्मा लिएको तल्लो ठाडो सुरुङमा फलामका पाइप राख्ने कामले गति लिएको भए पनि माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काममा अपेक्षाकृत प्रगति हुन सकेको छैन ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार अष्ट्रियन कम्पनीले जिम्मा लिएको तल्लो सुरुङमा हालसम्म १ सय ४० मिटर फलामको पाइप जडान गरिसकिएको छ । अष्ट्रियन कम्पनीले अब २३२ मिटर पाइप जडान गर्न बाँकी छ । तल्लो ठाडो सुरुङको कूल लम्बाइ ३७२ मिटर छ । कूल ५ मिटर लम्बाइ र २७ टन तौल भएका फलामका पाइप जडान भइरहेको छ ।

“ठाडो सुरुङमा काम गाह्रो छ तर राष्ट्रिय आवश्यकताका आधारमा शीघ्र अगाडि बढोस् भन्ने सरकारको अपेक्षा छ, हाम्रो पनि त्यही अपेक्षा छ”, प्रवक्ता न्यौपानेले भने ।

भारतीय कम्पनी टेक्सम्याकोले जिम्मा लिएको माथिल्लो ठाडो सुरुङमा हालसम्म मात्रै ५२ दशमलव ५ मिटर फलामको पाइप जडान भएको छ । सो सुरुङको कूल लम्बाइ ३ सय १० मिटर छ । अझै २ सय ५७ दशमलब ५ मिटरमा फलामको पाइप जडान गर्न बाँकी छ । आगामी चैतसम्म आयोजना सम्पन्न गर्नुपर्ने सीमा निर्धारण गरिएको छ ।

कामको गति हेर्दा तोकिएको समयमा काम पूरा हुन कठिनाइ हुने देखिएपछि सचिव घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले टेक्सम्याकोका अध्यक्ष एसके पोद्दार र व्यावसायिक सल्लाहकार आर महेश्वरीसँग संवाद गरेका  भेटमा सहभागी माथिल्लो तामाकोशी आयोजनाका प्रतिनिधि विमल गुरुङले जानकारी दिए ।

“आयोजनाको कामलाई गति दिने विषयमा भएको छलफल असाध्यै महत्वपूर्ण रह्यो । माथिल्लो ठाडो सुरुङको कामलाई थप गति दिन निर्माण व्यवसायीको अध्यक्ष र सल्लाहकारले प्रतिबद्धता जनाएका छन्”, गुरुङले भने । भारतीय कम्पनी टेक्सम्याकोले आगामी ३ हप्ताभित्र थप जनशक्ति उपलब्ध गराएर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारबाट पेनस्टक पाइप जडान शुरु गरिएको थियो । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको हाल भौतिक प्रगति ९८ दशमलव ५ प्रतिशत पुगेको छ । आयोजनालाई गति दिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई विशेष जिम्मेवारी दिएका छन् । सोही निर्देशनअनुसार नै हरेक महिना आयोजनास्थल पुगेर कार्यकारी निर्देशक घिसिङले समस्या समाधानमा सहजीकरण गर्दै आएका छन् ।

पछिल्लो पटक तय गरिएको समयतालिकाभित्रै र गुणस्तरमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीहरुलाई प्राधिकरणले ताकेता गरिरहेको छ । सरकारको योजनाअनुसार आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट (७६ मेगावाट) र त्यसपछि बाँकी ५ युनिटबाट आगामी असार भित्रमा विद्युत् उत्पादन गरी आयोजनाको निर्माण सम्पन्न गर्नुपर्नेछ ।

कार्यकारी निर्देशक घिसिङले जनशक्ति बढाएर दिनमा ३ चरणमा काम गर्न यसअघि नै निर्माण व्यवसायीलाई आग्रह गरिसकेका छन् । ऊर्जामन्त्री पुनको २०७५ चैत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले हरेक महिना आयोजनास्थलमा पुगी निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्दै आउएका छन् । सोही सिलसिला अनुसार नै उनले आइतबार टेक्सम्याकोका अध्यक्षलगायतका पदाधिकारीसँग छलफल गरेका हुन् ।

मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्नसमेत यसअघि नै निर्देशन दिएका छन् ।

पेनस्टक पाइप आपूर्ति तथा जडानका ठेक्का पाएको भारतीय कम्पनीले काममा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।

माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि घिसिङले गत साउन ६ गते पनि भारतको कोलकातास्थित टेक्स्म्याकोका प्रमुख कार्यकारी अधिकृत जिसीले अग्रवाललाई आयोजनास्थलबाटै फोन गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।

‘गोरखा भूकम्प’, त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
आयोजनाको निर्माण आर्थिक वर्ष २०७३÷७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि आव २०७५÷७६ को पुस महिनाभित्र निर्माण सक्नेगरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर भारतीय ठेकेदारका कारण आयोजनाको काम प्रभावित भएको थियो । आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button