
दीननाथ बराल, पोखरा न्यूज ९, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने ८ खेल अवलोकन गर्दा सहभागि हुने दर्शकले शुल्क तिनुपर्ने भएको छ ।
पोखरा हुने खेललाई व्यवस्थित पार्न दर्शकसँग शुल्क लिइने भएको १३ औं साग पोखरा श्रोत-साधन परिचालन समितिका संयोजक संजिव बहादुर कोइरालाले बताए ।
उनका अनुसार सिजनल टिकट दश दिनको लागि ५ सय रुपैया पर्छ, अन्य एक दिनको प्रति दर्शक टिकटको एक सय रुपैयाको शुल्क निर्धारण गरिएको छ ।
पोखरामा साग खेलमा करिब २० हजार दर्शकले प्रत्यक्ष रुपमा खेल अवलोकन गर्ने आफुहरुले अपेक्षा गरेको संयोजक कोइरालाले बताए ।
उनका अनुसार ५ हजार जसो सिजनल टिकट उपलब्ध गराइने भएको छ । महिला फुटवल खेलको फाइनल खेलको भने प्रति व्यक्ति दुइृ सय रुपैया निर्धारण गरिएको संयोजक कोइरालाले बताए ।
त्यसैगरी पोखरामा हुने सागको प्रचार प्रसार कार्यलाई समेत तिव्र पारिएको प्रचार प्रसार तथा प्रकाशन समितिका संयोजक केशव पाठकले बताए ।
संयोजक पाठकका अनुसार सोमबार नाट्टा गण्डकी प्रदेश, पृथ्बी राजमार्ग बस संचालक प्रा.लि., पोखरा यातायात प्रा.लि. लगाएतको सहकार्यमा बसहरुमा प्रचार सामाग्रि र व्यानर टास्ने काम भएको छ ।
पोखरामा सागमा महिला फुटवल र क्रिकेट, बिच भलिवल, ह्याण्डवल, भारतोलन, व्याडमिन्टन, आर्चरी र ट्राइयथलन खेल हुने भएको छ ।






