
पोखरा न्यूज – ०९ , मंसिर । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कास्की–२ को चुनाव २ हजार ४ सय मत अन्तरले काँग्रेसले जित्ने दावी गरेका छन् । चुनावी प्रचारका लागि आइतबार पोखरा आएका प्रवक्ता शर्माले नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दावी गरेका हुन् ।
‘सबै प्रकारले हेर्दा २ हजार ४०० मतले हामी चुनाव जित्छौं । यो निकै तीव्र प्रतिस्पर्धी मत भएकाले यसलाई बढाउन प्रयत्नशील छौं । म पनि पोखरा आइपुगेको छु’, उनले भने ।
प्रवक्ता शर्माले कास्कीको चुनाव जित्ने आधार समेत प्रस्तुत गरे । ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह, कम्युनिष्टले विगतमा बाँडेका सपना पूरा हुन नसकेको, कम्युनिष्ट सरकारले गरेका गलत काम सच्याउने अवसर, निष्ठावान र लोकप्रिय उम्मेदवार, कांग्रेसका नेताहरूको बीचमा एकता, कास्कीबाट देशलाई दिने सन्देश नै कांग्रेसले चुनाव जित्ने मुख्य आधार हुन्’, उनले भने ।
यसै प्रसंगमा प्रवक्ता शर्माले मान्छे बुढो हुँदैमा सांसद बन्न नपाउने भन्ने नभएको टिप्पणी गरे । उनले भने, ‘डोनाल्ड ट्रम्प ७० वर्षको उमेरमा अमेरिकाको राष्ट्रपति बन्नुभयो । प्रधानमन्त्री ओली पनि ७० वर्ष आसपासमै हुनुहुन्छ ।’ उम्मेदवार खेमराज पौडेलको उमेरको सवाल भन्दा उहाँले दिने सन्देश महत्वपूर्ण हुने उनले स्पष्ट पारे । आफू चुनाव प्रचार अभियानमा लाग्दै गर्दा दशैभर कांग्रेसको पक्षमा लहर आएको समेत उनले दावी गरे ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फेरि पनि कम्युनिष्टले नै चुनाव जिते मुलुक भड्खारोमा गएर जाकिने दावी गरेका छन् । कम्युनिष्ट अतिवाद र अधिनायकवाद अब थेग्न नसक्ने भन्दै उनले मुलुकलाई त्यसबाट मुक्त गर्न कांग्रेसलाई जिताउन आग्रह गरे ।
सोमबार पोखरामा आयोजित चुनावी सभामा नेता सिंहले कालापानी र लिपुलेकमा गएर लम्पसार परेको ओलीको राष्ट्रवादले मुलुकले धेरै वर्ष दुःख पाउने टिप्पणी गरे ।
‘सीमा विवादमा प्रतिपक्षी कांग्रेसले धेरै बोल्यो, जनता आन्दोलनमा उत्रिएर सडकमा आइसक्दा पनि प्रधानमन्त्री ओलीजी झिना मसिना कुरा भन्दै बसिरहनुभएको छ’, उनले भने, ‘उहाँको खोक्रो राष्ट्रवाद अब जनताले पत्याउदैनन् ।’ यतिबेला विश्वको ध्यान कास्की–२ मा रहेको भन्दै उनले यस क्षेत्रबाट कांग्रेसले चुनाव जितेर देश विदेशमा सकारात्मक सन्देश दिन चाहेको बताए ।
पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली कांग्रेसको मुख्य शत्रु भ्रष्टाचार, बलात्कार, हिंसा र लम्पसारवाद भएको बताए । उनले जनता करैकरको थुप्रोमा थिचिएर स्वास फेर्न पनि नसक्ने अवस्थामा पुगेको भन्दै यसबाट मुक्ति पाउन पनि कांग्रेसले चुनाव जित्नुपर्ने स्पष्ट पारे । उनले कांग्रेसले कर होइन करको दायरा फराकिलो बनाउने नीति लिएको बताए ।
कांग्रेस नेता देवराज चालिसेले यो चुनाव यो चुनाव पार्टी–पार्टी, उम्मेदवार–उम्मेदवार बीचको होइन भ्रष्टाचारी सरकार–जनताबीचको लडाइँ भएको बताए । उनले भ्रष्टाचारी सरकारलाई परास्त गर्न र लोकतन्त्रको रक्षा गर्नका लागि यो चुनाव निकै महत्वपूर्ण भएको स्पष्ट पारे ।
उम्मेदवार खेमराज पौडेलले संविधान, राष्ट्रियता र लोकतन्त्र रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी भएको भन्दै आफूले जनता सामू गरेका वाचा कहिल्यै नभुल्ने बताए ।
कार्यक्रममा पूर्व मन्त्री भीमसेनदास प्रधान, कास्की कांग्रेस सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, महिला नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला मधु, पोखरा–११ का वडा इकाइ सभापति बोधराज घिमिरे, सचिव वसन्त कोइराला लगायतले बोलेका थिए ।





