चुनावको प्रचारप्रसार शैली परिवर्तन गर्नुपर्नेमा वक्ताको जोड

पोखरा न्यूज – ०९, मंसिर । कास्की लगायत देशकै चुनावी प्रचारप्रसार शैली परिवर्तन गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताले  जोड दिएका छन् ।

सयपत्री समाज कास्की द्वारा सोमबार पोखरामा आयोजित “लोकतन्त्रका आधार : स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन” नामक अन्तक्रिर्या कार्यक्रमका वक्ताहरुले विद्यमान् चुनावको प्रचारप्रसार शैली गलत रहेको भन्दै परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

चुनावी प्रचारप्रसारको दौरानमा उम्मेदवारहरुले तडकभडक बढ्ता गर्नेगरेको आफ्ना एजेन्डा प्रस्तुत गर्ने तर्फ भन्दापनि प्रतिस्पर्धीका कुरा काट्ने गरेको र नारा जुलुसमा समय बर्बाद गर्ने गरेको  वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा वक्ता गोपाल खड्काले उम्मेदवारको निर्वाचन अघि र पछिको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने, उम्मेदवारको शैक्षिक योग्यता निर्धारण गर्नुपर्ने  र घरदैलो कार्यक्रम परिमार्जन गर्नुपर्ने धाराणा राखे ।

कार्यक्रममा प्रा. लेखनाथ भट्टराईले पार्टीमा आन्तरिक लोकतन्त्रको अभावले निर्वाचन प्रवाभित हुने गरेको र निर्वाचनमा अत्याधिक खर्च हुने गरेको बताउदै निर्वाचनमा बिदेशमा भएका नेपालीहरुले पनि भाग लिने वातावरण सिर्जना गर्नुपर्ने कुरामा जोड दिए  ।

कार्यक्रममा अर्का वक्त्ता भीमनाथ बरालले निर्वाचनमा बढी खर्च हुने गरेको, निर्वाचन आयोगको भूमिका प्रभावकारी नभएको र नेता कार्यकर्ताको बानीमा सुधार नआएको प्रतिक्रिया ब्यक्त गरे ।

कार्यक्रममा अधिवक्ता दीपक पराजुलीले निर्वाचनका लागि राजनीतिक दलहरुले प्रस्तुत गर्ने उम्मेदवारको चयन अत्यन्त अपारदर्शी एवं लोकतान्त्रिक विधिविपरित भएकोले समस्या उत्पन्न हुने गरेको बताए ।

कार्यक्रममा बिष्णु खनाल, उपेन्द्र पौडेल, चन्द्र रोका, विना सिलवाल, प्रा. ज्ञान बहादुर कार्की, सुजाता पौडेल, सुनिता अर्याल, रुपा बस्नेत लगायतका वक्ताहरुले निर्वाचनमा उम्मेदवारले भ्रामक प्रचार गर्ने गरेको, मतदाताको खरिदबिक्री हुने गरेको , बदर मतको संख्या बढी हुने गरेको, आफ्नो एजेन्डा भन्दा अरुको कमजोरी देखाउने गरेको, घरदैलो भन्दा मिडियाको माध्यमबाट एजेन्डा प्रस्तुत गरेर  न्यूनतम् खर्चमा प्रचारप्रसार गर्नुपर्ने, न्यूनतम् निर्वाचन खर्च तोकेर लेखापरीक्षण गराउनुपर्ने लगायतका धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख वक्ता राजनीतिशास्त्री प्रा.डा.उमानाथ बरालले निर्वाचनमा सम्बन्धित पक्ष र नागरिकको विश्वसनीयता भएमा मात्र निर्वाचित सरकार र शासनले बैधता प्राप्त गर्ने बताए । निर्वाचित पक्षले बैधता आर्जन गर्न नसकेको खण्डमा निर्वाचित सरकार र निर्वाचन गराउने निकायको अस्तित्व र लोकतन्त्र नै धरापमा पर्ने उनको भनाई थियो ।

गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रका १७ जना वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button