यी हुन् २०२० का लागि विश्वका सर्वोत्कृष्ट हवाई सेवा प्रदायक

पोखरा न्यूज-१०, मंसिर । एअर न्युजिल्यान्ड सन् २०२० का लागि विश्वकै सर्वोत्कृष्ट हवाई सेवा प्रदायक बन्न सफल भएको छ । एअरलाइन रेटिङ्ग डट कमले सार्वजनिक गरेको सुचीमा एअर न्युजिल्यान्डले क्वान्टास, इमिरेट्स, कतार एअरवेज जस्ता ठुला एअरलाइन्सलाई पछि पार्दै अग्र स्थान ओगटेको हो ।

एअर न्युजिल्यान्डको यस वर्षको कीर्तिमानी प्रदर्शन र उडानका क्रममा नवप्रवर्तन साथै सुरक्षित उडान र कर्मचारी उत्प्रेरणा जस्ता कारकले एअरलाइन्स पहिलो स्थान पर्न सफल भएको जनाइएको छ ।

अघिल्लो वर्ष सिङ्गापुर एअरलाइन्स सर्वोत्कृष्ट बनेको थियो । एअर न्युजिल्यान्ड यो भन्दा अघि ५ पटक सर्वोत्कृष्ट एअरलाइन्स घोषित भएको थियो ।

यात्रुहरुको प्रतिक्रिया, फ्लिटको उमेर, लगानीको रेटिङ, कर्मचारी सम्बन्ध, कम्पनीको नाफा र सेवा प्रदायिताजस्ता १२ मुख्य मापदण्डमा ७ जनाको जुरीले दिएको निर्णयबाट एअर न्युजिल्यान्डले पहिलो स्थान हासिल गरेको हो ।

अवार्डले सबैभन्दा शानदार एअरलाइन्स लाउञ्ज, सर्वोत्कृष्ट फर्स्ट क्लास क्याबिन, सबैभन्दा रोमाञ्चक उडान मनोरञ्जन तथा अनुभव जस्ता पक्षहरुलाई पनि समेट्ने गर्छ । यी सबै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै नवप्रवर्तन र वातावरणीय प्रभावलाई पनि न्यूनीकरण गर्न सफल भएको भन्दै एअर न्युजिल्यान्ड सर्वोत्कृष्ट घोषित भएको हो ।

सुचीमा सिङ्गापुर एअरलाइन्सले दोस्रो स्थान ओगट्दा जापानको अल निप्पोन एअरवेज तेस्रो स्थानमा आइपुग्यो । सुचीमा टप १० मा परेका अन्य एअरलाइन्सहरु क्वान्टास, क्याथे प्यासिफिक, इमिरेट्स, भर्जिन एटलाण्टिक, इभिए एअर, कतार एअरवेज र भर्जिन अस्ट्रेलिया रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button