१३ औँ साग : पोखरामा फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार

कृष्ण दवाडी -१०, मंसिर । दक्षिण एशियाली राष्ट्रहरुबीचको खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता १३औँ दक्षिण एशियाली खेलकूद (साग) शुरु हुन पाँच दिन बाँकी रहँदा अझै केही महत्वपूर्ण खेलका पूर्वाधार निर्माणका चरणमा छन् ।

नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागअन्तर्गत आठ खेल पोखरामा खेलाइने तय भए पनि महिला फुटबल, क्रिकेट र बिच भलिबलको खेलस्थल तयार भइसकेको छैन । यसअघि पोखरामा नौ खेल खेलाउने योजना रहे पनि नेपालबाहेकका अन्य देशबाट सहभागिता नहुँदा प्याराग्लाइडिङ सागबाट हटेको छ ।

पर्यटकीय फेवाताल किनारस्थित बाराहीघाटमा सञ्चालन हुने बिच भलिबलको पूर्वाधार निर्माणको काम जारी छ । खेलाडी परिवर्तन कक्ष तथा शौचालय निर्माण सम्पन्न भए पनि मैदानमा बालुवा हालेर खेल्नयोग्य बनाउन बाँकी छ । अस्थायी प्यारापिटसमेत राखिएको छैन । बिच भलिबलको हाल भइरहेको एक कोर्टको स्तरोन्नति हुँदै छ भने थप तीन नयाँ कोर्ट निर्माण गरिएको छ ।

राष्ट्रिय खेलूकद परिषद् (राखेप)ले सम्बन्धित खेल सङ्घलाई नै पूर्वाधार निर्माणको जिम्मा दिएको छ । बोलपत्र आह्वान गरेर काम गराउँदा ढिलाइ हुने भएकाले छिटोछरितो रूपमा समयअगावै खेलस्थल तयार गर्ने योजनानुसार सम्बन्धित सङ्घले उपभोक्ता समितिमार्फत काम गराए पनि पूर्वाधार निर्माणमा भने समय लागेको छ ।

जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुली दुईतीन दिनभित्र खेलको सम्पूर्ण पूर्वाधार तयार हुने बताउनुहुन्छ । कात्तिक पहिलो हप्तादेखि निरन्तर काम भइरहेको बताउँदै उनले भने, “मैदान स्तरोन्नति सकिएको छ, अब बालुवा हाल्न मात्र बाँकी छ, प्यारापिटका लागि दुई दिनभन्दा बढी समय लाग्दैन ।”

सागमा समावेश गरिएको महत्वपूर्ण प्रतियोगिता महिला फुटबल निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा खेलाउने योजनानुसार दु्रतगतिमा मैदानमा दुबो रोप्ने तथा प्यारापिट हाल्ने काम चलिरहेको छ । मैदानमा रोपिएको आधाभन्दा बढी दुबो मरेपछि त्यसलाई अहिले विस्थापन गरिएको छ । दुबो रोपिएको दुई सातासम्म मैदान खेल्नयोग्य नभए पनि खेलको दौरान जहाँ–जहाँ दुबो उप्किन्छ, त्यहाँ नयाँ राख्नका लागि दुबो जगेडामा राखिएको छ ।

दश हजार दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने योजनानुसार मैदानका पश्चिमतर्फ पाँच हजार सिट जडान गरिसकिएको छ । पूर्वतर्फ पनि पाँच हजार सिट क्षमताको प्यारापिट तथा सिट जडान बाँकी छ । गत वर्षको असारमसान्तसम्म निर्माण गरिसक्ने गरी फुटबल रङ्गशालाको ठेक्का सम्झौता गरिए पनि पूर्णरूपमा रङ्गशाला तयार हुन अझै चार महिना लाग्ने निर्माण कम्पनीका प्रबन्धक दीपक बरालले बताए । उनले भने, “साग अगाडि १० हजार क्षमताको प्यारापिटसहितको रङ्गशाला तयार गर्छाैँ । सम्झौतानुसारको काम सम्पन्न गरेर रङ्गशाला हस्तान्तरण गर्न चार महिना लाग्छ ।”

महिला क्रिकेटको पोखरा रङ्गशालाभित्रको पिचका लागि सामग्रीसमेत अझसम्म आइपुगेको छैन । दर्शकको सुविधाका लागि रङ्गशालाको वरिपरि अस्थायी प्यारापिट तथा ‘चेञ्जिङ कक्ष’ निर्माण बाँकी छ । मैदानको घाँस काट्ने तथा पिच गर्नका लागि माटो भर्ने काम सकिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगी भने प्रतियोगिता शुरु हुनुभन्दा एकदुई दिनअघि नै पूर्वाधार तयार हुने जिकिर गर्छन । पूर्वाधार बन्न बाँकी रहेका सबैको काम अन्तिम चरणमा रहेकाले साग खेलका लागि कुनै पनि अभाव नहुने र प्रतियोगिता भव्यताका साथ सफल बनाइने उनको भनाइ छ ।

पोखरामा खेलाइने खेलमध्ये ब्याडमिन्टन खेल मङ्सिर १५ गतेदेखि नवनिर्मित ब्याडमिन्टन कभर्डहलमा हुने छ । महिला क्रिकेट तथा धनुकाँण १६ गतेदेखि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान तथा धनुकाण मैदानमा शुरु हुने छ । महिला पुरुष ह्याण्डबल १८ गतेदेखि शुरु हुने छ ।

बिच भलिबल, महिला फुटबल र भारोत्तोलन खेल १९ गतेदेखि पोखरामा हुनेछन् । भारोत्तोलन खेल पोखरा–१२ माटेपानीस्थित केसी क्याटरिङको हलमा हुने छ । पोखरामा हुने आठ खेलका लागि सहभागी सात देशबाट महिला ४ सय १ र पुरुष २ सय ६१ गरी ६ सय ६२ खेलाडीको सहभागिता रहने साग पोखरा प्रचारप्रसार संयोजक केशव पाठकले जानकारी दिनुभयो । प्रतियोगितामा १७२ अधिकृत सहभागी हुँदैछन् ।

त्यसैगरी सागका आठ खेल सञ्चालनका लागि ४ सय ९१ प्राविधिक अधिकृत यहाँ आउँदैछन् । अधिकृतमा प्राविधिक प्रतिनिधि आठ, प्रतियोगिता निर्देशन सहायक २४, प्रतियोगिता निर्देशक र निर्णायक समितिका ४४, रेफ्री तथा निर्णाय ८५, राष्ट्रिय रेफ्री १ सय ३६ र प्राविधिक सहायक १ सय ९४ को उपस्थिति रहने छ । महिला क्रिकेटका लागि ६२, महिला फुटबलका लागि ५०, धनुकाणका लागि ५३, ब्याडमिन्टनका लागि ९४, ह्याण्डबलका लागि ५९, बिच भलिबलका लागि ६५, भारोत्तोलनका लागि ६८ र ट्राइयाथोलनका लागि ४० प्राविधिक रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button