म्याग्दीको गलेश्वर शिवालयमा अहिलेसम्मकै धेरै भेटी संकलन

कमल खत्री, पोखरा न्यूज – १०, मंसिर । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीको दिनमा मात्रै रु ५ लाख २६ हजार बढी भेटी संकलन भएको छ ।

पर्वको अवसरमा गलेश्वरको दर्शन, पुजापाठ र सतबिज छर्न आएका भक्तजनहरुले चढाएको भेटी, सहयोग रकम र मन्दिर परिसरभित्र सञ्चालन भएका स्टलहरुको शुल्क समेत गरि रु ५ लाख २६ हजार १ सय २३ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिए  ।

भक्तजनले चढाएको भेटिलाई सुरक्षाकर्मीको रोहोबरमा गणना गरि बैँकमा जम्मा गरिँदै आईएको छ । यस बर्षको बालाचर्तुदशीमा गलेश्वरमा अहिलेसम्मकै बढी भक्तजन भित्रिएको कारण भेटी रकम समेत बढी संकलन भएको कोषाध्यक्ष पुनले बताए  । कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा सोमबार शतबीज छर्नका लागि हजारौँ भक्तजनको आगमन भएको थियो ।

यस बर्षको बालाचर्तुदशीमा आएका भक्तजनहरुको सख्ंया अहिलेसम्मकै धेरै रहेको र संकलन हुने भेटी रकम समेत बढेको गलेश्वर शिवालय क्षेत्रविकास कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले जानकारी दिए । सोमबार बालाचर्तुदशीको अवसरमा गलेश्वरमा ५० हजार बढीले दर्शन तथा पुजापाठ गरेको कोषले जनाएको छ ।

बालाचतुर्दशी पर्वमा पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ । सतविज छर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, काठमाण्डौ, , चितवन, नवलपरासी लगायतका ठाउँबाट समेत ठुलो संख्यामा भक्तजनहरु गलेश्वरमा आएका थिए । सोमबारका दिन बालाचतुदर्शी पर्व परेकाले पनि भक्तजनको भिड अन्य समयको तुलनामा बढेको कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए । गलेश्वरमा द्वापरयुगमा सतिदेवीको गला पतन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button