सागको प्रतिक्षामा पोखरा : पर्यटन व्यावसायी उत्साहित

वासुदेव पौडल/ कृष्ण दवाडी-११ मंसिर । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले हालै गरेको भ्रमणबाट प्राप्त विश्वव्यापकतापछि सुन्दर नगरी पोखरा यतिखेर आसन्न दक्षिण एशियाली खेलकूद(साग)को तीव्र प्रतिक्षामा छ ।

सागका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी, अफिसियल तथा अन्य पर्यटकका लागि यहाँका हिमाल, तालतलैया स्वागतको पर्खाइमा छन् । देशको राजधानी काठमाडौँपछि पहिलोपटक पोखरामा सागका आठ खेल सञ्चालन हुने भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।

साग सञ्चालनसँगै पोखरा खेल पर्यटनको पनि उत्तिकै सम्भावनायुक्त क्षेत्रका रुपमा स्थापित बन्ने र यस ठाउँमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन हुने गरी ‘माइस टुरिजम’को विकास गर्न सकिने भएको छ । पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापा पोखरा प्राकृतिकरुपमा आफैँमा सुन्दर शहर भएकाले सागअन्तर्गतको केही खेल यहाँ सञ्चालन हुनु महत्वपूर्ण अवसर रहेको बताउछन । सागलाई लक्षित गरी आउने पर्यटकको स्वागतका लागि पोखरेली आतुर भएको बताउँदै उनले आफूहरूले यसलाई महत्वपूर्ण अवसरका रुपमा लिएको जनाए  ।

सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएको र सन् १९९९ मा तेस्रो संस्करणको साग नेपालमा भएको थियो । त्यसयता दुई दशकपछि १३ औँ संस्करणको साग आयोजना गर्ने अवसर यस पटक जुरेको हो । यस संस्करणको सागका केही खेल पहिलोपटक राजधानी बाहिर पनि खेलाउन लागिएको छ ।

कूल २६ खेलमध्ये आठ वटा पोखरा र एउटा खेल जनकपुरमा हुँदैछ । प्रतियोगितामा सहभागिताका लागि दक्षिण एशियाली राष्ट्रबाट ठूलो सङ्ख्यामा खेलाडी, अफिसियल, विदेशी पाहुना तथा सञ्चारकर्मीसमेत आउने भएकाले यसबाट पोखराको पर्यटनको अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रवर्द्धन हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । यही मङ्सिर १५ गतेदेखि साग हुँदैछ ।

“पहिलोपटक पर्यटकीय शहर पोखरामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनाले यहाँको अर्थतन्त्र चलायमान बनाउनुका साथै पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुनेछ”, उनले भने  ।  पोखरामा सञ्चालन हुने आठ खेलका लागि नेपालसहित सात राष्ट्रबाट ८ सय ४० खेलाडी तथा अफिसियलको पोखरामा आगमन हुने भएको छ । साग लक्षित पूर्वाधार निर्माण लगभग अन्तिम चरणमा पुगेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए  ।

महिला क्रिकेट, फुटबल, बिच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन, भारत्तोलन, आर्चरी र ह्याण्डबलमा भाग लिन ६ सय ५० खेलाडी तथा १ सय ९० अफिसियल आउने भएको प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए  । प्रतियोगितामा सहभागी खेलाडीमध्ये ३ सय ९६ महिला तथा २ सय ५४ पुरुष छन् ।

त्यस्तै सागका खेल सञ्चालका लागि विभिन्न देशका ४ सय ९१ टेक्निकल डेलिगेट, टुर्नामेन्ट डाइरेक्टर, रेफ्री, जज, राष्ट्रिय रेफ्री तथा टेक्निकल एसिस्टेन्टको सहभागिता रहने छ । भारतबाट पाँच खेलको लागि १ सय ८० खेलाडी तथा अफिसियलको सहभागिता रहने छ, जसमा ४९ पुरुष, ६९ महिला तथा २५ अफिसियल रहेका छन् । माल्दिभ्सबाट पाँच खेलमा १३६ खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ जसमा पुरुष ४१, महिला ६१ र ३४ अफिसियल छन् ।

बङ्गलादेशबाट छ खेलको लागि पुरुष ५९, महिला ५५ र ३६ अफिसियल रहेका आउँदैछन् । पाकिस्तानबाट पाँच खेलमा ९४ खेलाडी तथा अफिसियलको सहभागिता हुनेछ, जसमा पुरुष ३८, महिला ३५ र अफिसियल २१ छन् । श्रीलङ्काबाट आठ खेलमा १७५ खेलाडी तथा अफिसियल आउँदैछन् । पुरुष खेलाडी ६१, महिला ८१ र अफिसियल ३३ को सहभागिता रहनेछ ।

भूटानबाट चार खेलको लागि खेलाडी तथा अफिसियल गरी ४२ को सहभागिता रहेको छ । जसमध्ये पुरुष २९, महिला छ तथा अफिसियल सात जना रहेका छन् । सागका लागि पोखरा आउने पर्यटकले यहाँका प्राकृतिक सुन्दरताको मोहकता विश्वमाझ पुर्याउने नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सन्तोष पोखरेलले बताए  ।

“यो पोखराको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसर हो”, उनले भने , “खेल पर्यटनका माध्यमबाटै अन्तर्राष्ट्रियस्तरमा धेरै देशले फड्को मारी सकेका छन्, न्यानो आतिथ्यता दिएर यस अवसरलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button