
पोखरा न्यूज- ११, मंसिर । अमेरिकाको टेक्सासमा रहेको एक रसायन प्लाण्टमा विस्फोटन हुँदा आसपासका कैयौं घरको झ्यालहरु फुटेका छन् । विस्फोटनबाट आकाशमा सुन्तला रङ्गका ज्वालाहरु निस्किएको देखिएको छ ।
घटना पछि प्लाण्टबाट ८ सय मिटर आसपासका बासिन्दालाई अन्यत्र स्थानान्तरण गरिएको छ भने उक्त जोन अझ विस्तार हुनसक्ने पनि अधिकारीहरुले जनाएका छन् । विस्फोट ४८ किलोमिटरसम्म महसुस गरिएको थियो । घटनामा तीन कर्मचारी घाइते भएको र सर्च एन्ड रेस्क्यु पनि जारी रहेको कम्पनीले बताएको छ ।
स्थानीयहरुले भने विस्फोटले ठूलो कम्पन पैदा गरेको बताएका छन् । घटना पछि प्लाण्टमा आगो लागेको तर हाल आगलागी भने नियन्त्रणमा आइसकेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विस्फोटन भएको प्लाण्ट टिपिसी समुहको रहेको छ जसले रसायन र पेट्रोलियमसँग सम्बन्धित थुप्रै वस्तुहरु उत्पादन गर्ने गर्छ ।





