
पोखरा न्यूज- ११, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज देखि शुरु भएको भलिबल खेलको पुरुष स्पर्धामा नेपाली टोली बङ्गलादेशसँग पराजित हुन पुगेको छ । आफ्नो पहिलो खेलमा नेपाललाई बङ्गलादेशले ३-२ को सेेटमा पराजित गरेको हो ।
दर्शकले भरिभराउ दशरथ रंगशालाको कभर्ड हलमा भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली नेपालले पहिलो सेट २५-२१ ले जित्यो । निकै रोचक भएको दोस्रो सेटमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे । एक सेटले पछि परेको बङ्गलादेशले शानदार पुनरागमन गर्दै दोस्रो सेटमा २०-१६ स्कोर पुर्याउँदै ४ अङ्कको अग्रता लियो । नेपाली टोलीले त्यसपछि भने निरन्तर अङ्क जोड्दै खेल २४-२३ सम्म पुर्याउन सफल भयो । तर अन्त्यमा नेपाली टोली चुक्न पुग्दा बङ्गलादेशले दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्यो ।
खेलको तेस्रो सेटको सुरुआत निकै रोचक रह्यो । सेटको पहिलो टाइमआउटसम्म बङ्गलादेशी टोली ८-७ अङ्कले अघि रहेको थियो । दोस्रो टाइमआउटमा खेल पुग्दा भने नेपाली टोलीले उत्कृष्ट कमब्याक गर्दै १६-१३ को अग्रता लियो । त्यसपछि भने आफ्नो अग्रतालाई कायम राख्दै नेपालले तेस्रो सेट २५-१९ ले सहजै जित्यो ।
खेलको चौथो सेट पनि उत्तिकै रोमाञ्चक रह्यो । कहिले नेपाल त कहिले बङ्गलादेशतिर ढल्किएको सेट २४-२४ अङ्कको बराबरीमा पुगेको थियो । अन्तिम क्षणमा भने बङ्गलादेशले बाजी मार्दै सेट २६-२४ ले जित्यो र खेल पाँचौ सेटसम्म पुग्यो । चौथो सेटमा बङ्गलादेशका सुजनले खेलकै पहिलो पहेलो कार्डसमेत पाएका थिए ।
खेलको पाँचौं सेटमा भने नेपालले लय गुमाउन पुग्यो । यसैको फाइदा उठाउदै बङ्गलादेशी टोलीले निरन्तर चार अङ्कको दुरी कायम राख्यो र अनन्त अन्तिम सेट १५-१२ जित्दै खेल पनि ३-२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
लिग कम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘क’ मा नेपालसहित बङ्गलादेश र भारत छन् भने समूह ‘ख’ मा माल्दिभ्स, पाकिस्तान र श्रीलंका रहेका छन् । समूह चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार भारतको सामना गर्नेछ ।
यस अघि आजै भएको महिला भलिबलको आफ्नो पहिलो खेलमा भने नेपालले बङ्गलादेशलाई ३-० को सोझो सेटमा सहजै पराजित गरेको थियो ।





