पोखरा रंगशालामा मेडिकल सेन्टर स्थापना

दीननाथ बराल, पोखरा न्यूज- १२, मंसिर । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने ८ वटा खेलहरुको लागि पोखरा रंगशालामा मेडिकल सेन्टर स्थापना भएको छ । सागमा सहभागी हुने खेलाडी एवं अफिसियलहरुको स्वास्थ्य उपचारको लागि डा.पदम बहादुर खड्काको संयोजकत्वमा मेडिकल सेन्टर स्थापना भएको हो ।

पोखरा रंगशालाको बहुउद्धेश्य कबर्डहलमा दैनिक १२ घण्टा (विहान ७ बजे देखि बेलुका ७ बजे ) सम्म फर्स्ट एड देखि फिजियोथेरापी सम्मका सामानहरु उपलब्ध हुने भएको डा.खड्काले बताए । पोखरा रंगशाला भित्र खेल हुने पाँच ठाउँमा फर्स्ट एडसहितको मेडिकल टोलीहरु रहने भएको उनले जनाए ।

चिकित्सक सहितको फिजियोथेरापीस्टको टोली मेडिकल सेन्टरमा रहने र आवश्यक परेको खण्डमा तत्काल पुग्ने गरी प्रबन्ध मिलाएको मेडिकल संयोजक डा.खड्काले बताए । रंगशालामा र्यापिड रेस्पोन्स टिम तैनाथ हुने उनले जनाए । सुरक्षाको तीनै अंग नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टिम समेत परिचालित हुने डा. खड्काले जनाए ।

होटलमा बस्दा समेत खेलाडी एवं अफिसियलहरुलाई रेखदेख गर्न चौबिसै घण्टा चिकित्सकसहितको मेडिकल टोली तयार रहने संयोजक डा. खड्काले जनाए । बिहान, दिउँसो र बेलुका सहित गरी मेडिकलले टोलीले खेलाडी सहितको अफिसियलको टोलीको स्वास्थ्य उपचारमा लाग्ने तयारी गरेको उनले जनाए ।

एम्बुलेन्स सेवा तयारी अवस्थामा हुने बताउदै डा. खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल सहित पोखरामा भएका सम्पुर्ण निजी अस्पतालहरुले साग लक्षित आवश्यक सेवा प्रदान गर्ने भएको जनाए । पोखराका अस्पतालहरुमा केही सघन कक्षका केही बेडहरु खाली अवस्थामा राख्न समेत आफुहरुले अनुरोध गरेको उनले जनाए । नेपाल रेडक्रस सोसाइटीले पनि प्रतियोगितालाई सहयोग गर्ने भएको छ । सागमा सहभागी भएका खेलाडी एवं अफिसियललाई उपचार गर्न परेको खण्डमा फास्ट ट्रयाकबाट छिटो छरितो उपचार गर्ने व्यवस्था समेत मिलाइएको डा. खड्काले दाबी गरे ।

फिजियोथेरापिस्ट डा. खड्गसिंह गुरुङका अनुसार मेडिकल सेन्टरमा अर्थोपेडिक, डेन्टल, नर्स-सिएमए, फिजियोथेरापिस्ट, स्ट्रेचर, फर्स्ट एड किटलगायतका अत्यावश्यक वस्तुसहितको सेवा उपलब्ध हुने छ । यही मंसिर बिहिबार देखि २४ गतेसम्म उक्त सेवा मेडिकल सेन्टरमा उपलब्ध हुने भएको उनले जनाए । पोखरा रंगशाला भन्दा बाहिर बिच भलिवल, ट्रायथलन र भारतोलन हुने खेल स्थलमा पनि मेडिकल टोली राखिने डा.खड्काले जनाए ।

यसैबीच उक्त मेडिकल सेन्टरको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र सामाजिक विकास मन्त्री नरदेवि पुनले उद्घाटन गरेका हुन्। मन्त्रीहरुले फर्स्ट एडका सामाग्री मेडिकल संयोजक डा. खड्कालाई हस्तान्तरण गरेका हुन्। मन्त्रीहरुले पोखरा रंगशालामा हाल निर्माण हुदै गरेका साग लक्षित विभिन्न भौतिक संरचनाको अवलोकन समेत गरेका थिए । पोखरा रंगशाला भित्र महिला तर्फको क्रिकेट र फुटबल हुने भएको छ भने ह्याण्डबल, आर्चरी र व्याडमिन्टन हुने भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button