शनिबार पोखराबाट अन्यत्र जाने गाडीलाई स्कर्टीङ गरी संचालन गरिने !

दीननाथ बराल, पोखरा न्यूज- १२, मंसिर । कास्की क्षेत्र-२ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि निर्वाचन आयोगले मंसिर १४ गते शनिबार  बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान समय तोकेको छ । कास्कीको  क्षेत्र नम्बर २ क्षेत्रमा  १३ गते राति १२ बजेदेखि अत्यावश्यक सेवा एम्बुलेन्स, शव वाहन, पानीका गाडी, सुरक्षाकर्मी, पत्रकार, कुटनितीक नियोग, दलका केही प्रतिनिधि बाहेक अन्यलाई रोक लगाइएको छ ।

पोखराबाट अन्य जिल्लामा लामो दुरीका गाडीहरु समेत संचालन हुने हुँदा  विभिन्न ठाउँमा गाडी रोकी ३-३ घण्टामा स्कर्टीङ गरी यातायात सेवा संचालन गर्ने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनका अनुसार पुर्व तर्फ विजयपुरखोला, पश्चिम उत्तरमा याम्दीपुल, दक्षिण पश्चिममा कालिमाटि खोलामा गाडीहरुलाई रोकेर होल्ड गर्ने व्यवस्था गरिएको छ । स्कर्टीङका क्रममा निर्वाचन हुने ठाउँमा कुनै पनि गाडी रोक्न नपाउने र यात्रु चढ्न र झर्न समेत नपाउने भएकोे उनले बताए । हाल मौन अवधि सुरु भएकोले कुनै पनि दल तथा उम्मेदवारको प्रचार प्रसार नगर्न प्रशासनले आव्हान समेत गरेको छ ।

उपनिर्वाचनको लागि शनिबार हुने मतदानको लागि मतदाता परिचय पत्र वितरण गर्न सुरु भएको छ । कास्की उपनिर्वाचनको लागि ३२ मतदान स्थलका लागि ८२ जना मतदान अधिकृतले आफ्नो मतदान केन्द्रबाट आज (बिहीबार) देखि मतदाता परिचय पत्र वितरण गर्न शुरु गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले बताए ।

बुधबार नै विभिन्न ५६ प्रकारका निर्वाचन सामग्री बुझेका मतदान अधिकृतले आ-आफ्नो मतदान केन्द्रबाट बिहीबार र शुक्रबार मतदाता परिचयपत्र वितरण गर्ने भएको निर्वाचन अधिकृत सुवेदीले बताए । चुनावको लागि आवश्यक तयारी पूरा भएको निर्वाचन अधिकृत सुवेदीले जनाए । मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी जम्मा ४ सय १० जना कर्मचारी निर्वाचनमा खटिएको उनले जनाए ।

एउटा मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, २ जना कर्मचारी र १ सहयोगी गरी कुल ५ जना रहने व्यवस्था मिलाइएको उनले जनाए । निर्वचनको सुरक्षालाई मध्यनजर गरी निर्वाचनका वेला करिब ८ सय भन्दा बढी सुरक्षाकर्मी खटिने निर्वाचन अधिकृत सुवेदीले बताए । तीन वटा सुरक्षाको घेरामा मतदान केन्द्रहरु रहेको उनले जनाए । अधिकाशं विद्यालयमा मतदान हुने भएकोले ती विद्यालयहरुमा बिहिबार र शुक्रबार बिदा गरिएको निर्वाचन अधिकृत सुवेदीले जनाए ।

निर्वाचन सामग्री अन्तर्गत मतपत्र, मतपेटिका, सुरक्षण सिल, मतदाता परिचयपत्र मार्कर पेन, स्वस्तीक छाप रवर, मतपेटिका स्टिकर, लाहा, क्लीप पीन, स्केल, झोला, डोरी, सियो, धागो, कैँची, स्टाम्प प्याड, लगायत साना ठूला सामग्री पर्दछन् । कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् ।

पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडामध्ये वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस क्षेत्रमा पर्दछन् । सबैभन्दा बढी पोखरा १७ स्थित पार्दी मावि (क) मतदान केन्द्र र पोखरा १६, विन्ध्यवासिनी मावि, बाटुलेचौर (क) मतदान केन्द्रमा समान १ हजार ३६ जना मतदाता रहेको निर्वाचन आयोग कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जनाए ।

कास्की-२ मा १० स्वतन्त्र सहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । गत २१ कात्तिकमा २५ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारी दिएका एकले उम्मेदवारी फिर्ता लिएका हुन् भने ३ दलका उम्मेदवारको नाम समानुपातिक बन्दसूचीमै रहेकोले हटाइएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराई, नेपाली काँग्रेसबाट पुराना नेता खेमराज पौडेल, समाजबादी पार्टीका धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसी उम्मेदवारको रुपमा चुनावी मैदानमा रहेका छन् । त्यसै गरी रापप्राका रोमबहादुर भण्डारी, राप्रपा संयुक्तका गंगा मल्ल, मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङ, नेकपा मालेका टेकनाथ भण्डारी, देशभक्त्त समाजबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्ण बहादुर राना, नेपाली कागेंस (बि.पी) बाट चन्द्रबहादुर रानाभाट चुनावी मैदानमा रहेका छन् । त्यस्तै स्वतन्त्रबाट दीपक रेग्मी, सुनिल भुषाल, रण बहादुर दमै, कमलजंंग कुँवर, उमनाथ गौतम, जमुना शर्मा, नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, लक्ष्मी भुजेल र सुनिल बहादुर कोइराला चुनावी मैदानमा उत्रिएका हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button