
दीननाथ बराल, पोखरा न्यूज- १२, मंसिर । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने ८ वटा खेलहरुको लागि विभिन्न देशका खेलाडी सहित अफिसियलहरुको टोली पोखरा आउन थालेका छन् ।
मंसिर १५ देखि २४ गतेसम्म पोखरामा हुने १३ औं सागमा सहभागी हुन बंगलादेश, भुटान, श्रीलङका लगायतका देशका खेलाडीहरुको टोली पोखरा आउन थालेको १३ औं साग पोखरा आवास व्यवस्थापन समितिका संयोजक सुर्य भुजेलले बताए ।
उनका अनुसार नेपाल सहितका ७ वटै देशका म्यानेजमेन्ट टोली आज साँझसम्म पोखरा आउने भएका छन् । बंगलादेशका सेफ दि मिसनका ओमार फारुक पोखरा आइसकेका छन्। पोखरामा हुने अधिकाशं खेलको भौेतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भए पनि केही खेलको निर्माण कार्य अन्तिम चरणमा पुगेको राखेप सदस्य राजेश गुरुङले बताए ।
यसैबीच, खेलकुदमा कला भन्ने उद्धेश्य सहित पोखरामा पहिलो पटक खेलकुदलाई जोडेर चित्रकला आयोजना गरिएको प्राज्ञ विम्व कवि रमेश श्रेष्ठले बताए । उनका अनुसार पोखराका करिब २० जना कलाकारहरुले विभिन्न चित्र कोरेका थिए ।
कलाकारहरुले कोरेको चित्रहरु सागमा आउने विदेशी पाहुना सहितको टोलीलाई उपहार दिइने अतिथि सत्कार सहसंयोजक रामचन्द्र थापाले बताए । उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले खेलकुदलाई कलासँग जोड्नु निकै राम्रो कामको सुरुवात भएको बताए । खेल आफैमा कला भएको उनले बताए ।
राखेपका सदस्य राजेश कुमार गुरुङले पोखराको पर्यटन, खेलकुद र कलाकारितालाई जोडन सके धेरै पर्यटन प्रवर्धन गर्न सकिने बताए । पोखरामा हुने सागलाई सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगीले बताए ।





