१३ औं साग : भारत आर्चरीमा सहभागी हुन पाएन, नेपालको पदकको आशा बढ्यो

दीननाथ बराल, पोखरा न्यूज- १३, मंसिर । अन्ततः विश्व आर्चरी महासंघबाट प्रतिबन्ध (सस्पेन्सन) भोगेको भारत १३ औं सागमा सहभागी नहुने भएको छ । अन्तिम समयमा आएर दबाबका बाबजुद दर्ता भएको भारतको आर्चरीको टिमलाई सागमा सहभागी नगराउने साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले निर्णय गरेको हो ।

काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा लगातार दुई दिन बुधबार र बिहिबार बसेको बैठकले भारत आर्चरी खेलमा विश्व आर्चरी महासंघबाट प्रतिबन्धित भएको तर प्रतिबन्धलाई टोलीले फुकुवा गर्न नसकेको भन्दै काउन्सिलले उक्त निर्णय गरेको हो । भारतमा आर्चरीको दुई वटा खेल संघ भएकोले विश्व आर्चरी संघले भारतलाई आर्चरी खेलमा प्रतिबन्ध लगाएको हो । आर्चरी खेलमा दाबेदार मानिएको भारत नखेल्ने भए पछि दोस्रो दाबेदार टिमको रुपमा मानिएको नेपालको पदक बढ्न सक्ने सम्भावना भएको खेल विज्ञले बताएका छन् ।

आर्चरी खेलमा भारत प्रतिबन्ध भएकोले उक्त प्रतिबन्ध फुकुवा ल्याउन नसकेको हुदा साग अन्तर्गत आर्चरी खेलमा सहभागी हुन नसकेको १३ औँ साग पोखरा प्राविधिक समितिका अध्यक्ष विद्या मर्सानीले बताए । उनले भने “ पहिला हामीले आर्चरीको खेल तालिका सार्वजनिक गरेका थियौं तर भारतका खेलाडीहरु अन्तिम समयमा आएर दर्ता भएपनि अन्ततः पहिलाकै खेल तालिका लागु हुनेछ । ” भारतले अन्तिम समयमा आएर महिला तथा पुरुष तर्फ ८-८ जना गरी १६ जना खेलाडीहरुको नाम दर्ता गराएको थियो ।

सम्बन्धित विश्व खेल संघबाट कुनै पनि देश त्यस खेलमा प्रतिबन्ध भएको अबस्थामा साग जस्तो खेलमा कुनै पनि अनि हालतमा सहभागी गराउन नमिल्ने प्रतिकृया दिएका नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले काउन्सिलले गरेको निर्णयको स्वागत गरेका छन् । राखेपसँग आर्चरी प्रशिक्षण मैदानको लागि रकम माग गर्दा समेत नदिएकोले हाल आफुहरुलाई प्रशिक्षण मैदानको अभावमा खेल स्थलमै प्रशिक्षण हुने प्रबन्ध गर्ने भएको अध्यक्ष गुरुङले बताए । पोखराको क्रिकेट मैदानमा आर्चरीको प्रशिक्षण हुने तयारी गरिरहेको अवस्थामा महिला क्रिकेट भएसंगै आर्चरीलाई प्रशिक्षणको लागि ठाउँ अभाव भएको हो ।

आर्चरीको १० स्वर्ण पदकका लागि नेपाल, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरामा आर्चरी यही मंसिर १९ गते देखि २३ गतेसम्म हुने भएको खेलाडी योगेन्द्र शेरचनले बताए । उनका अनुसार २२ र २३ गते स्वर्ण पदकको लागि फाइनल राउण्ड हुनेछ भने अन्य दिनमा विभिन्न चरणमा प्रतिस्पर्धा हुने भएको छ । कम्पाउण्ड (५० मिटर दुरी) तर्फको इभेण्टमा रमेश भट्टचन, रिकभ (७० मिटर दुरी) तर्फको इभेण्टमा असिम शेरचन सहितका खेलाडी माथि स्वर्ण पदकको आशा गरिएको छ । नेपालका ८-८ जना महिला तथा पुरुष गरी १६ जना खेलाडीहरु सहभागि भएका छन् ।

स्मरण रहोस भारतमा भएको १२ औं साउथ एसियन गेम भारत विश्व बास्केटवल संघबाट प्रतिवन्ध भएको अवस्थामा आफै सहभागि हुदा पछि विवाद उत्पन्न भए पछि उक्त खेल नै प्रतियोगिताबाट हटाइएको थियो । ओलम्पिकको झण्डा मुनि हालै बैंककमा भएको आर्चरी च्याम्पियनसिपमा समेत भारतबाट खेलाडीहरु सहभागि भए पनि भारतको प्रतिनिधित्व बहन गर्न पाएनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button