
दीननाथ बराल, पोखरा न्यूज- १३, मंसिर । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि भोलि (शनिबार) हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचनको अन्तिम तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले बताए ।
विहिबार र शुक्रबार मतदान केन्द्रमा मतदाता परिचय पत्र वितरण गरेसंगै शनिबार बिहान ७ः०० बजे देखि मतदान शुरु भइ बेलुका ५ बजेसम्म संचालन हुने उनले बताए । कास्की उपनिर्वाचनको लागि ३२ मतदान स्थल रहेका छन । मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी कुल ४ सय १० जना कर्मचारी निर्वाचनमा खटिएको निर्वाचन अधिकृत सुवेदीले बताए ।
मतदान सकिए लगत्तै सम्पूर्ण मतपेटिका मुख्य निर्वाचन कार्यालयमा आएसंगै सर्वपक्षिय र सर्वदलिय बैठक बसेर जति सक्दो शनिबारदेखि नै मतगणना गर्ने आफुहरु तयारी अवस्थामा रहेको उनले जनाए । आइतबार बेलुकासम्म मतगणना सकिने गरी मतगणनाको नतिजा सार्वजनिक गर्ने पक्षमा आफुहरु लागेको निर्वाचन अधिकृत सुवेदीले बताए । निर्वाचन पोखरा महानगर भित्रका ११ वटा वडा पर्ने भएकाले मतदान सकिएको करिब एकदेखि डेढ घण्टामा मतपेटिका ल्याइ सक्ने अनुमान गरिएको छ ।
पोखराबाट अन्य जिल्लामा लामो दुरीका गाडीहरु समेत संचालन हुने हुदा विभिन्न ठाउँमा गाडी रोकी ३/३ घण्टामा स्कटीङ गरी यातायात सेवा संचालन गर्ने भएको छ । पुर्व तर्फ विजयपुर खोला, पश्चिम उत्तरमा याम्दीपुल, दक्षिण पश्चिममा कालिमाटि खोलामा गाडीहरुलाई रोकेर होल्ड गर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।
लामो दुरीमा चढ्ने र आवश्यकताको आधारमा मात्र स्कटीङको व्यवस्था गरिने भएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । स्कटीङका क्रममा निर्वाचन हुने ठाउँमा कुनै पनि गाडी रोक्न नपाउने र यात्रु चढ्न र झन समेत नपाउने उनले बताए ।
कास्की २ मा १० स्वतन्त्र सहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । गत २१ कात्तिकमा २५ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारी दिएका एकले उम्मेदवारी फिर्ता लिएका हुन् भने ३ दलका उम्मेदवारको नाम समानुपातिक बन्द सूचीमै रहेकाले हटाइएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मुत्यू गएपछि उपनिर्वाचन हुन लागेको हो ।
कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप-निर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराई, नेपाली काँग्रेस बाट पुराना नेता खेमराज पौडेल, समाजवादी पार्टीका धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसी उम्मेदवारको रुपमा चुनावी मैदानमा रहेकाछन्।
त्यसै गरी रापप्राका रोमबहादुर भण्डारी, राप्रपा संयुक्तका गंगा मल्ल, मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङ, नेकपा मालेका टेकनाथ भण्डारी, देशभक्त्त समाजबाट विरबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्ण बहादुर राना, नेपाली काँग्रेस (बि.पी) बाट चन्द्रबहादुर रानाभाट चुनावी मैदानमा रहेकाछन्।
त्यस्तै स्वतन्त्रबाट दीपक रेग्मी, सुनिल भुषाल, रण बहादुर दमै, कमलजंंग कुँवर , उमनाथ गौतम, जमुना शर्मा, नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, लक्ष्मी भुजेल र सुनिल बहादुर कोइराला चुनावी मैदानमा उत्रिएका हुन्।





