पोखरामा ३ कलाकार एकैसाथ सम्मानित हुँदै

आर.आर. पौडेल, पोखरा न्यूज- १३, मंसिर । मङ्सिर २१ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घमा हुने त्रिवेणी साङ्गीतिक साँझ कार्यक्रमको आयोजना हुने भएको छ । कार्यक्रममा पोखरा र काठमाडौँका विभिन्न कलाकारहरुको साङ्गीतिक प्रस्तुति मुख्य आर्कषणको रुपमा रहनेछ ।

सोही कार्यक्रममा आयोजक त्रिवेणी सङ्गीतालयले सङ्गीतकार बी. बी. अनुरागी, गायक खिमकुमार गुरुङ र गीतकार आरजु विष्ट ‘सल्यानी’लाई एक साथ सम्मान गर्दैछ ।

त्रिवेणी साङ्गीतिक साँझमा तीनै जनालाई एउटै मञ्चमा सम्मान गरिने सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालले जानकारी दिए । नगद १० हजार रुपैयाँसहितको त्रिवेणी सङ्गीत सम्मान तथा पुरस्कारबाट सम्मानित हुने अनुरागी २ दशकभन्दा लामो समयदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् । बागलुङको भकुण्डेमा जन्मेका गायक, सङ्गीतकार, एरेन्जर र गीतकारको छवि बनाएका अनुरागीले पोखराबाटै आफ्नो साङ्गीतक यात्रा सुरु गरेका थिए ।

सोही पुरस्कारबाट सम्मानित हुने अर्का प्रतिभा खिमकुमारले ५० भन्दा बढी लोकगीत, भजन र गाउँका गीत गाएका छन् । उनको एउटा एकल एल्बम बजारमा आइसकेको छ भने एउटा एल्बम आउने तयारीमा छ । कास्कीकै सिक्लेसका गुरुङ सानैदेखि गायनमा लागे पनि औपचारिक रुपमा भने २०६२ देखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् ।

दीपक भट्टराई स्मृति सङ्गीत पुरस्कारबाट सम्मानित हुन आरजु विष्ट ‘सल्यानी’ गीतकार तथा रेडियो अन्नपुर्णका समाचार संयोजक हुन् । झ्याम्म झ्याम्म…लगायत दर्जनौँ गीत र गजलका स्रष्टा सल्यानी २ दशकभन्दा लामो समयदेखि साहित्य, सङ्गीत र सञ्चारकर्ममा क्रियाशील छन् । सङ्गीतकार दीपक भट्टराईको परिवारद्वारा स्थापित सो पुरस्कारको राशि पनि १० हजार नगदसहित सम्मान पत्र र दोसल्ला रहेको छ ।

डेढ दशकदेखि पोखराको न्युरोडमा सङ्गीत प्रशिक्षण सञ्चालन गरिरहेको त्रिवेणी सङ्गीतालयले हरेका वर्ष त्रिवेणी साङ्गीतिक साँझ सञ्चालन गर्दै आएको छ । यसपालीको कार्यक्रमलाई भव्य बनाउन तयारी तिव्र पारिएको आयोजकले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button