कास्की-२ मा निर्वाचन शुरु

दीननाथ बराल, पोखरा न्यूज- १४, मंसिर ।  कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आज बिहान ७ः०० बजे देखि मतदान शुरु भएको छ । पोखरा महानगर भित्रका ११ वटै वडामा ३२ मतदान स्थल मध्य ८२ मतदान केन्द्रमा सौहार्द पूर्ण रुपमा मदतान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

कास्की-२ मा १० स्वतन्त्र सहित २१ जना उम्मेदवार रहेका छन्। धेरै दिन पछि पोखराको आकास खुलेसंगै धेरै मतदाताहरु निकै उत्साहित भएर देशमा शान्ति सुरक्षा र भ्रष्टचारको अन्त्यको लागि भन्दै आफ्नो अमुल्य मत दिन लाइनमा बसेका देखिन्थे । सहारा बाल आधारभूत विद्यालयमा आफ्नो मत हाल्न पुगेकी माया कुमारी गुरुङले आफुहरु २०३६ साल देखि सुकुम्बासीको रुपमा रहेकोले यस पटक भोट दिए पछि लालपुर्जा पाइन्छ की भन्ने आशाले भोट हाल्न आएको बताइन्।

प्रतिनिधि सभा सदस्यको लागि कास्कीमा मात्र निर्वाचन भएकाले अन्य निर्वाचन भन्दा यसपाली सुरक्षामा केही कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताए । शनिबार विहान ७ः०० बजे देखि मतदान शुरु भएसंगै बेलुका ५ बजेसम्म संचालन हुने भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले बताए । मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी जम्मा ४ सय १० जना कर्मचारी निर्वाचनमा खटिएको निर्वाचन अधिकृत सुवेदीले बताए ।

पोखराबाट अन्य जिल्लामा लामो दुरीका गाडीहरु समेत संचालन हुने हुदा विभिन्न ठाउँमा गाडी रोकी ३/३ घण्टामा स्कटीङ गरी यातायात सेवा संचालन गर्ने भएको छ । पुर्व तर्फ विजयपुर खोला, पश्चिम उत्तरमा याम्दीपुल, दक्षिण पश्चिममा कालिमाटि खोलामा गाडीहरुलाई रोकेर होल्ड गर्ने व्याबस्था गरिएको प्रशासनले जनाएको छ ।

लामो दुरीमा चढ्ने र आवश्यकताको आधारमा मात्र स्कटीङको व्यबस्था गरिने भएको कास्कीका प्रहरी प्रमुख एस.पी.दानबहादुर कार्कीले बताए । स्कटीङका क्रममा निर्वाचन हुने ठाउँमा कुनै पनि गाडी रोक्न नपाउने र यात्रु चढ्न र झन समेत नपाउने उनले बताए ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मुत्यू गएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button