घरेलु मैदानमा इतिहास रच्ने दाउसहित महिला फुटबल टोलीको ‘ओपनिङ टच’

पोखरा न्यूज – १५, मंसिर । पोखरा रङ्गशाला फुटबल मैदानमा महिला फुटबल टोलीले आज ‘ओपनिङ टच’ गरेको छ । १३औँ साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता यही मङ्सिर १७ देखि हुँदैछ ।

फुटबल मैदानको काम केही बाँकी भए पनि प्यारापिट लगायतका काम शनिबार सकिएको थियो । मैदान बाहिरको सिन्थेटिक एथ्लेटिक ट्रयाक वरिपरि काम भइरहेको छ । माछापुच्छ्रे हिमालको काखमा सिङ्गारिएको नवनिर्मित फुटबल मैदानमा नेपाली महिला फुटबल टोलीले ‘ओपनिङ टच’ गरेका हुन् ।

प्रशिक्षक हरि खड्काले पोखराको सुन्दरतासँग खेलाडीले निकै आनन्द महशुश गरेको बताउँदै भने, ‘‘फुटबल मैदानको केही काम निर्माण हुँदैछन् । यो खुलेको हिमाल मुनि ‘ओपनिङ टच’ले खेलाडीमा आत्मविश्वास बढाएको छ ।’’ सागका अघिल्ला संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो । घरेलु मैदानमा अघिल्ला खेलको बदला लिएर जित हासिल पार्ने दाउमा खेलाडी छन् ।

खड्काले यसपाली खेलाडीले निकै मेहनत गरेकाले जित्नेमा ढुक्क भएको बताए  । ‘‘नेपालसँग भिड्ने भारत पनि बलियो प्रतिद्वन्द्वी नभएकाले हाम्रो मेहनतले सोचेजस्तै सफलता हासिल गर्नेमा ढुक्क छौँ ।’’ उनले भने ‘‘भारतीय र नेपाली टोलीको स्तर एउटै हो । अहिले साफ च्याम्पियनसिपदेखिको परिश्रमलाई उपयोग गरेर उपाधि जित्न चाहन्छौँ ।’’

टोलीका लागि स्ट्राइकरको जिम्मेवारी सम्हालेकी  सावित्रा भण्डारीले पनि मेहनत राम्रो गरेकाले खेल जित्ने विश्वास व्यक्त गरिन । ‘‘अघिल्ला खेलमा देखिएका गल्ती यो खेलमा दोहोरिने छैनन्, सुधारले नतिजा राम्रै हुनेमा आशावादी छौँ ।’’ घरेलु मैदानको फाइदा उठाउँदै नेपालीलाई खुशी दिलाउन आफुहरुले निकै मेहनत गरेको उनको भनाइ छ ।

साग महिला फुटबलको पहिलो खेलमा नेपालले श्रीलङ्कासँग भिड्ने छ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशमात्रै सहभागी भएकाले राउन्ड रोबिन लिगका आधारमा खेल हुने फुटबल प्रशिक्षक शम्भु केसीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button