पोखरामा साग खेल शुरु, उद्घाटनकै दिन नेपाललाई २ पदक

दीननाथ बराल, पोखरा न्यूज – १५, मंसिर । १३ औं साग अन्तर्गत पोखरामा आइतबार देखि सुरु भएको ब्याडमिन्टन खेलमा नेपालले उद्घाटनकै दिनमा २ पदक प्राप्त गर्ने सुनिश्चित गरेको छ । पोखरा रंगशालामा हालै निर्माण भएको ब्याडमिन्टन कोर्टमा आइतबार भएको खेलमा नेपालले टिम इभेन्टमा २ वटा पदकको सुनिश्चित गरेको हो ।

नेपालले महिला तथा पुरुषतर्फको समूह इभेन्ट दुबैतर्फ १-१ पदक पक्का गरेको छ । आइतबार भएको खेलमा महिला तथा पुरुष दुबै टोली सेमिफाइनलमा प्रवेश गर्दै नेपालले २ पदक सुनिश्चित गरेको हो । सेमिफाइनलमा पराजित भएकै अवस्थामा पनि नेपालले कम्तिमा काश्य पदक प्राप्त गर्ने छ ।

आज भएको खेलहरुमा नेपालका रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९ को सोझो सेटमा पराजित गर्दा अर्को खेलमा नेपालका दीपेश धामीले भुटानका निदुप दोर्जेलाई २–० को सोझो सेटमै पराजित गरेका हुन्। उनले निदुपलाई २१–१३ र २१–१४ को सेटमा पराजित गरेका हुन् । यसैगरी तेश्रो खेलमा नेपालका प्रिन्स दाहालले भुटानका नोर्बु ड्रडुपलाई २१–१२ र २१–५ को सेटमा पन्छाए ।

त्यसै गरी महिलातर्फको इभेन्टमा नेपालकी नङ्सला तामाङले बंगलादेशकी शाल्पा अख्तरलाई ३–१ को सेटमा पराजित पराजित गरिन् । उनले शाल्पालाई २१–१८, १५–२१ र २१–१७ को सेटमा पराजित गर्दा अर्को खेलमा नेपालकी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को कठीन जित दर्ता गरिन्।

नेपालका प्रशिक्षक सुदीप योञ्जनले खेलाडीहरुले अपेक्षाकृत ढंगले खेलेका कारण क्वाटरफाइनल खेलमा जित हासिल गर्न सफल भएको बताए । उनले भने“ टफ गेममा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा जित भएको छ, सेमिफाइनलमा पनि हाम्रो उत्कृष्ट प्रर्दशन हुने छ । ”

बंगलादेशका प्रशिक्षक गौतम चण्डुपालले रेफ्रिका कारण आफूहरुले हार बेहोर्नुपरेको प्रतिक्रिया दिएका छन् । उनले भने“ हाम्रो तर्फको प्रहारलाई लाईन रेफ्रीले धेरै जसो आउट दिएका कारण हामी पराजित हुनु पर्यो । ”

पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भइरहेको खेलमा ७ स्वर्ण, ७ रजत र १४ काश्य गरी २८ पदकका लागि ७ देशका ९४ जना खेलाडी प्रतिस्पर्धामा उत्रिदैछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button