नेपाललाई पोखराबाट पहिलो स्वर्ण पदक

दीननाथ बराल, पोखरा न्यूज – १६, मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पोखराबाट नेपाललाई पहिलो स्वर्ण पदक प्राप्त भएको छ । आज बिहान पोखरामा भएको महिलातर्फको ट्राय्थलनमा सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्।

पोखराको फेवातालमा भएको ७ सय ५० मिटर स्वीमिङ, लेकसाइडमा भएको २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर सडक दौड १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा पार गर्दै गुरुङले महिलातर्फ नेपाललाई दोस्रो तथा पोखराबाट पहिलो स्वर्ण पदक दिलाएकी हुन्।

सुइमिङ र साइक्लिङमा तेश्रो तथा चौथो स्थानमा रहेकी गुरुङले दौडमा उत्कृष्ट प्रर्दशन गरी नेपाललाई ट्राय्थलन खेलबाट पहिलो स्वर्ण दिलाएकी हुन् । १२ औं सागमा नेपाल ट्राय्थलनमा रजत र कास्य पदकबाट माथि उठ्न सकेको थिएन्।

नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाउने सोनी गुरुङलाई व्यक्तिगत रुपमा एक लाख रुपैया दिने घोषणा गरे । त्यसै गरी संघका उपाध्यक्ष एवं गण्डकी प्रदेश सांसद समेत रहेका दीपक कोइरालाले २५ हजार रुपैया खेलाडीको हौसला स्वरुप प्रदान गर्ने घोषणा गरे ।

नेपाललाई ट्राय्थलनमा कास्य पदक प्राप्त भएको छ । नेपालका बसन्त थारुले कास्य पदक हात पारेका हुन्। उनले निर्धारित दुरी एक घण्टा ३ मिनेट ६ सेकेण्डमा पुरा गरी कास्य पदक हात पार्न सफल भएका हुन्।

महिला तर्फको ट्राय्थलनमा रजत र कास्य पदक नै भारतले हात पार्न सफल भएको छ । भारतकी सरोजिनी देवि थुडाम १ घण्टा १४ मिनेटमा उक्त दुरी पार गरी रजत पदक हात पार्दा भारतकै प्रज्ञा मोननले १ घण्टा १४ मिनेट ५७ सेकेण्डमा उक्त दुरी पार गरेकी कास्य पदक दिलाएकी हुन्।

पुरुष तर्फको ट्राय्थलनमा भारतले स्वर्ण पदक हात पारेको छ । भारतका आर्दश सिनीमोलले एक घण्टा २ मिनेट ३१ सेकेण्डमा निर्धारित दुरी पुरा गरी स्वर्णपदक दिलाएका हुन्। त्यसै गरी भारतकै विश्वरजित साइखोमले रजत पदक हात पारे । उनले एक घण्टा २ मिनेट ५९ सेकेण्मा उक्त दुरी पार गरेका हुन्। प्रतियोगितामा नेपाल सहित भारत र श्रीलंका सहभागि भएकाछन्।

मंगलबार र बुधबार समेत पोखरामा ट्रायथलन हुने भएको कास्की जिल्ला ट्रायथलन संघका अध्यक्ष सुमन देवकोटाले बताए ।
उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुनले गरेकी हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button