बारीमै कुहिन्छ बाग्लुङमा उत्पादित तरकारी

पोखरा न्यूज – १६, मंसिर । वारिपारि भीरपाखा र अग्ला पहाड छन् । त्यही बीचमा उर्वर भूमि त छ तर त्यस भूमिमा उत्पादन गरिएका कृषि उपज बजारमा लैजान सडक र सवारीसाधनको अभावमा किसान निराश हुनुपरेको छ ।

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–९ बरेखानीका किसान अधिकाशं गाउँ, बस्ती र टोलमा सडकको पहुँच पुग्दा पनि यस्तो समस्या भोग्न विवश छन् । गाउँमा बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि निर्वाहमुखी खेती गरेर बस्न बाध्य भएको स्थानीय किसानहरु गुनासो गर्छन् ।

उत्पादन भएको कृषि उपज बजार लैजानका लागि यातायातको पहुँच नहुँदा थोरै मात्र उत्पादन गर्न बाध्य भएको बरेखानीका कृषक मित्रलाल गौतमले बताए । भौगोलिकरूपमा गलकोट नगरपालिकाको केन्द्र हटिया बजारबाट धेरै टाढा नभए पनि सानो बस्ती भएका कारण यहाँ हालसम्म सडकको पहुँच पुग्न सकेको छैन । उत्पादित कृषि उपज आफैँ बोकेर एक डेढ घण्टाको पैदल यात्राबाट बजारमा पुर्याउने गरेको गौतमको भनाइ छ ।

गौतमका अनुसार बजार पुर्याउन नसक्दा उत्पादन भएको तरकारी बारीमै कुहिने गरेको छ । “थोरै जग्गामा उत्पादन धेरै मात्रमा हुनेभएकाले बजार पुर्याउन नसक्दा तरकारी बारीमा कुहिएर जाँदा हामी जस्ता युवा किसान साह्रै चिन्तित छौँ”, उनले भने ।

बरेखानी गाउँमा पहिले २० घर थिए । राज्यको उपेक्षा, अभाव र असुविधाका कारण बसाइँसराइ बढ्दै गएपछि अहिले ८ घरमा मात्र मानिस बस्दै आएका छन् । सबैले तरकारी उत्पादन गर्ने भएका कारण यस गाउँलाई तरकारी गाउँको रूपमा समेत चिनिने गरिएको छ । “गलकोटको अन्य भागमा भन्दा यहाँ धेरै मात्रमा तरकारी उत्पादन गर्न सकिन्छ”, अर्का कृषक चन्द्रमणी शर्माले भने, “बोकेर लान धेरै सकिन्न, धेरै उत्पादन गरेर कुवाउनुभन्दा थोरै उत्पादन गर्छौँ ।”

नगरपालिका भए पनि दुर्गम जस्तो लाग्ने बरेखानीमा विद्यालयसमेत छैन । विसं २०४० मा स्थापना भएको प्राथमिक विद्यालय विद्यार्थीको अभावमा ४ वर्ष अगाडि बन्द भएको छ । पैदलयात्रामार्फत गाउँ पुग्नुपर्ने भएका कारण तरकारीको स्याहार गर्ने समयभन्दा बोकेर बजार लैजाने समस्याले पिरोल्ने गरेको कृषकको गुनासो छ । बरेखानीका ८ घरपरिवारलाई अहिले काउली, बन्दा, अदुवा, गाँजर, मुला, गोलभेँडा उत्पादन भए पनि बजार नपाउँदा समस्या भएको छ ।

बरेखानीका प्रत्येक घरमा व्यावसायिक मौरीपालनसमेत गरिँदै आएको छ । बजार पठाउन सडक भए यहाँका किसानले वार्षिक लाखौँ आम्दानी गर्ने कृषक गौतमले बताए । “सडक छैन, डोकोमा बोकेर बजार लैजान कतिनै सम्भव हुन्छ र ?”, गौतमले भने । सडकको सुविधा भए बसाइँसराइ गर्न नपर्ने गरी बाँकी बाँझो जग्गामा पनि व्यावसायिकरूपमा खेतीबाली लगाउने सोच रहेको स्थानीय किसान बताउँछन् ।

बर्सेनि सडक पुर्याउनका लागि नगरपालिकाले बजेट विनियोजन गरे पनि भौगोलिक समस्याका कारण सडक विस्तारमा समस्या भएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताए । “बर्सेनि सडकमा लगानी गरेका छौँ”, उनले भने, “नमिलेको भू–बनोटका कारण सडकको पहुँच सहज हिसाबले पु¥याउन कठिन भएको छ, हामी प्रयासरत छौँ ।” थापाका अनुसार गत वर्षमात्रै सडक विस्तारका लागि नगरपालिकाले रु सात लाख बजेट विनियोजन गरे पनि चट्टान परेका कारण जम्मा ५४ मिटर सडक खनिएको थियो ।

प्रदेश तथा केन्द्रीय सरकारले ठूलै बजेट विनियोजन नगरेसम्म सडक पुर्याउन समस्या भएको गलकोट नगरपालिकाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button