कुन सडकमा कसले ढल निर्माण गर्ने !

सञ्चिता घिमिरे– १६, मंसिर । ढल निर्माण र मर्मतको जिम्मेवारी कसको हो ? स्थानीय सरकार, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा खानेपानी मन्त्रालय ? यो कुरामा स्थानीयवासी मात्रै होइन स्वयं सेवा प्रदायक संस्थासमेत जानकार छैनन् ।

नेपाल सरकारका तीन मन्त्रालय र स्थानीय सरकार सबैले एकार्कालाई देखाएर पन्छँदा काठमाडौँ उपत्यकालगायत उपत्यका बाहिरका शहरी क्षेत्रमा उचित ढल व्यवस्थापन हुन सकेको छैन । ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी तथा सरफाइ मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको भए पनि सेवाप्रदायक संस्थाबीच समन्वय हुन नसक्दा समस्या आउने गरेको छ । स्थानीयवासी पनि कुन निकायलाई उजुरी गर्ने भन्नेमा अन्योलमा छन् ।

काठमाडौँ उपत्यकामा धेरै स्थानमा ढलको उचित व्यवस्थापन नहुँदा र भएका ढलसमेत नियमित रुपमा मर्मत नहुँदा स्थानीयवासी हैरान छन् । ढल नभएका स्थानमा फोहर पानी सडकमा नै बग्ने हुँदा दुर्गन्ध फैलिएको छ । धेरै वर्षदेखि वर्षाको पानीको निकास नहुँदा ललितपुरको कुमारीपाटी पूरै डुबानमा पर्दै आएको छ । त्यो नियति धेरै वर्षदेखि दोहोरिएको स्थानीयवासी अनुप श्रेष्ठले बताए  । सडकमा रहेको पानी निकास नहुँदा त्यहाँ रहेका पसल र घर डुबानमा परेको उनले बताए  । स्थानीयवासी समस्या तत्काल समाधानको माग गर्दै महनगरपालिका पुगे । महानगरपालिकाले भने खानेपानी तथा ढल व्यवस्थापन विभाग पठाएको थियो । उनले भने, “ढल बनाउने र समस्या आउँदा खोल्ने कसले भन्नेमा नै हामी अन्योलमा छौँ ।”

ढल निर्माण र सुधारमा समन्वयको अभाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए  । ढल निर्माणका काममा तीनै मन्त्रालयले काम गरे पनि त्यसको मर्मतलगायत काम खानेपानी तथा सरसफाइ मन्त्रालयले नै गर्दै आएको छ । ढल निर्माणको काम जुनसुकै निकायले गरे पनि समस्या आउँदा गाली यही मन्त्रालयले पाउने गरेको उनले बताए  । ढल निर्माण मात्रै गरेर नहुने हुँदा कुन पाइपलाई कहाँ लगेर जोड्ने कसरी निकास गर्ने भन्ने तय गर्न आपसी समन्वयको खाँचो पर्छ । उनले भने, “पहिले सबैले पैसा छुट्टाएर निर्माण गरे पनि समस्या आएपछि भने खानेपानी मन्त्रालय नै खोज्ने अवस्था छ ।”

ढल निर्माणमा दक्ष जनशक्ति एकातिर हुने र काम अर्काे निकायले गर्ने भइरहेको प्रवक्ता शाक्यको भनाइ छ । ढलसम्बन्धी ज्ञान भएको प्राविधिक जनशक्ति आफ्नो मन्त्रालयमा भए पनि दक्षता भएका जनशक्ति नभएका निकायले निर्माण गर्दा समस्या आउने गरेको उहाँको भनाइ छ । उनले भने, “हाम्रो मन्त्रालयमा रहेका सरसफाइसम्बन्धी विज्ञको पनि विज्ञताको प्रयोग हुन खाँचो छ ।”

कुन सडकमा कसले ढल निर्माण गर्ने भन्नेमा नै स्थानीय तह अन्योलमा छन् । सडकका विषयमा आठ मिटरसम्म सङ्घीय सरकार र प्रदेश सरकारले र त्यसभन्दा कम चौडाइको सडक स्थानीय सरकारले निर्माण गर्ने उल्लेख छ । कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गो नभएको काठमाडौँ महानगरपालिाकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । उनका अनुसार त्यससम्बन्धी व्यवस्था नै नभए पनि सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएको छ ।

महानगरपालिकाले निर्माण गरेको ढल त्यहाँ रहेका वडाले मर्मत गरिरहेको उनले बताए  । महानगरपालिकामा झण्डै ८० प्रतिशत स्थानमा ढल निर्माण भइसकेको उनले जिकिर गरे । उनले भने, “बाँकी रहेका स्थानमा पनि ढल निर्माण गर्दै जाने योजना छ ।”
ढलको समस्या काठमाडौँ उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ । ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो ।

पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौँ उपत्यकाका धेरै सडक डुबानमा पर्नै र स्थानीयवासीको घरभित्रै पानी छिर्ने समेत समस्या हुने गरेको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउँदा फोहरपानीको मात्रा अझै बढ्ने देखिएको छ । पानीको ब्यबस्थापनका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यन्वयन निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । गुहेश्वरी, सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button