पोखरामा भएको डुआथलनमा नेपाललाई स्वर्ण र रजत

दीननाथ बराल, पोखरा न्यूज – १७, मंसिर । १३ औं साग अन्तर्गत डुआथलनमा पनि नेपालले एक स्वर्ण पदक सहित तीन पदक हात पार्न सफल भएको छ । पोखराको लेकसाइडमा आज (मंगलबार) भएको ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र साढे दुई किलोमिटर दौडमा नेपालले एक स्वर्ण सहित तीन वटा पदक हात पार्न सफल भएको हो ।

भारत र श्रीलंकाका खेलाडीलाई पछि पर्दै नेपालका खेलाडीले एक स्वर्ण र दुई रजत सहित तीन पदक हात पार्न सफल भएका हुन् । पुरुष तर्फको डुआथलनमा नेपालका हिमाल टमटाले निर्धारित दुरी ५७ मिनेट ३३ सेकेण्डमा पार गरी नेपाललाई स्वर्ण पदक दिलाएका हुन्। त्यसै नेपालका लक्ष्मण मल्लले रजत पदक जितेका छन्। उनले निर्धारित दुरी ५९ मिनेट १३ सेकेण्डमा पार गरी रजत पदक दिलाएका हुन्। श्रीलंकाका आशिथ परेराले निर्धारित दुरी ५९ मिनेट ३२ सेकेण्डमा पार गरी तेश्रो भए ।

त्यसै गरी महिला तर्फको डुआथलनमा श्रीलंकाले स्वर्ण र कास्य पदक हात पार्न सफल भएको छ । श्रीलंकाकी एरेङगा दुलाक्सिले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५८ सेकेण्डमा पार गरी स्वर्ण पदक हात पारिन् भने नेपालकी हुमी बुढामगरले रजत पदक हात पार्न सफल भइन् । दुलाक्सि भन्दा ३ मिनेट ४ सकेण्ड ढिलो दुरी पार गरेकी नेपालकी बुढामगर दोश्रो हुँदै रजत पदक प्राप्त गरेकी हुन् । श्रीलंकाकी खेलाडी उदय कुमारीले कास्य पदक जितेकी हुन् । उनले निर्धारित दुरी १ घण्टा ९ मिनेट ९ सेकेण्डमा पार गरेकी हुन्। प्रतियोगितामा नेपाल सहित श्रीलङका र भारत सहभागी भएका छन् ।

नेपाल ट्राय्थलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नेपाललाई नेपाल ट्राय्थलन र डुआथलनबाट स्वर्ण पदक दिलाउने खेलाडीलाई जनही एक लाख रुपैया दिने घोषणा गरेका छन् । त्यसै गरी रजत जित्ने खेलाडीलाई ५० हजार र कास्य पदक विजेता खेलाडीलाई २५ हजार पुरस्कार प्रदान गर्ने घोषणा समेत गरेकाछन्। त्यसै गरी संघका उपाध्यक्ष एवं गण्डकी प्रदेश सांसदसमेत रहेका दीपक कोइराला (रुपक) र बाबा फाउण्डेसनले स्वर्ण पदक विजेता खेलाडीलाई जनही २५ हजार, रजत पदक विजेतालाई १५ हजार र कास्य पदक विजेतालाई जनही १० हजार रुपैया दिने घोषणा गरेका छन् ।

सोमबार भएको ट्राएथ्लनमा सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन्। बुधबार मिक्स रिले ट्राय्थलन हुने भएको कास्की जिल्ला ट्राएथ्लनका अध्यक्ष सुमन देवकोटाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button