साग महिला क्रिकेटमा बंगलादेश ७ विकेटले विजयी

पोखरा न्यूज – १७, मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत  महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेपछि व्याटिङमा आएको श्रीलंकाले पुरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाको तर्फबाट यु थिमासिनीले ५६ रनको पारी खेलिन् । ४९ बलको सामना गरेकी उनले ४ छक्का र ५ चौका प्रहार गरेकि थिइन् । क्याप्टेन एच माधवीले ३० बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३३ रन बनाइन् । त्यस्तै एस संदिपनीले १२ रन जोडेकी थिइन् भने बंगलादेशले अतिरिक्त ७ रन दिएको थियो । बंगलादेशको बलिङ्गमा नहिदा अख्तरले ४ तथा जहनर आलमले १ विकेट लिइन् ।

१ सय २३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो । बंगलादेशको तर्फबाटसंजिदा इस्लामले अभिजित ५१ तथा आयसा रहमानले २९ रनको महत्वपूर्ण योगदान दिए । संजिदाले ४५ बलमा ८ चौका प्रहार गरिन भने आयसाले २ चौका प्रहार गरेकि थिइन् ।

खेलको अन्तिम तिर ब्याटिङमा आएकि फरगंगा हकले अभिजित रहँदै २३ रन बनाइन् । मात्रै १८ बलको सामना गरेकि उनले १ छक्का १ चौका प्रहार गरिन् ।श्रीलंकन बलरहर यु थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान एक–एक विकेट लिए । खेलमा बंगलादेशकि संजिदा प्लेयर अफ द म्याच भइन् । नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले उनलाई ट्रफि प्रदान गरेका थिए ।

खेलपछि प्रतिक्रिया दिंदै बंगलादेशी कप्तान सलमान खातुनले क्रिकेटका लागि पोखराको वातावरण निकै राम्रो भएको बताउँदै पहिलो खेलमा आफ्ना खेलाडीहरुको प्रर्दशन चित्त बुझ्दो भएको बताइन् । श्रीलंकाकी कप्तान हर्षिताले वलिङ र फिल्डीङमा अझै सुधारको खाँचो रहेको औल्याइन् ।

प्रतियोगिता अन्तर्गत बुधबार विहान ९ बजे नेपाल र बंगलादेशविच तथा दिउँसो १ बजे श्रीलंका र माल्दिभ्सविच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button