गण्डकी प्रदेश प्रमुख शेरचन र तिब्बत जनसरकारका अध्यक्षबीच पोखरामा भेटवार्ता

पोखरा न्यूज – १७, मंसिर ।  गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र चीनको स्वशासित तिब्बत जनसरकारका अध्यक्ष कुइनजालाको नेतृत्वमा रहेको १६ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलबीच आज पोखरामा भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा चीन र नेपालबीच रहेको वर्षौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने तथा नेपालमा हुनसक्ने चीनविरोधी गतिविधिलाई नियन्त्रण गर्ने सम्बन्धमा छलफल भएको थियो ।

भेटवार्तामा प्रदेश प्रमुख शेरचनले सीमा नाका तथा नेपालमा चीनविरोधी गतिविधि हुन नदिनेमा सम्पूर्ण देश एक ढिक्का रहेको स्मरण गराउँदै नेपालले विगतदेखि नै चीनविरोधी गतिविधिलाई निस्तेज पार्दै आएको बताए ।

नेपालको विकास र स्थायित्वका लागि चीन सरकारले उपलब्ध गराउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै शेरचनले भने, “चीनले नेपालको विकासका लागि जहिले पनि जुन प्रकारले चासो र चिन्ता व्यक्त गर्दै आएको छ, यसबाट नेपाली जनता खुशी छन् । यहाँका जनताको तर्फबाट म चीन सरकारलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

प्रदेशसँग सीमा जोडिएका स्थानमा हुने चीनविरोधी गतिविधि रोक्नका लागि प्रदेश सरकार तत्पर रहेको प्रमुख शेरचनले टोलीलाई आश्वस्त पारेका थिए ।

नेपाल भ्रमण वर्षको अवसरमा धेरैभन्दा धेरै चिनियाँ नागरिकलाई नेपाल घुम्नका लागि समेत उनले प्रतिनिधिमण्डलमार्फत निम्ता गरेका थिए ।

अध्यक्ष कुइनजालाले पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि तिब्बतको ल्हासा र पोखराबीचमा सिधा हवाई सेवा शुरु गर्न सकिने उल्लेख गर्दै यसले दुवै देशका नागरिकलाई फाइदा पुग्ने बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका लागि आफूहरु तिब्बतका नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्न तत्पर रहेको बताउँदै उनले चीन सरकारको तर्फबाट नेपाललाई प्रदान गर्दै आएको सहयोगमा निरन्तरताको प्रतिबद्धता जनाए  ।

सोमबार साँझ पोखरा आएको चिनियाँ टोलीले आज पोखराका विभिन्न स्थलहरुको भ्रमण गरेको छ । फेवातालमा डुङ्गा सयर तथा शान्तिस्तूप र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको टोलीले भ्रमण गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button