अफ सिजनमा पनि पोखराका होटलमा अकुपेन्सि ६० प्रतिशत

दीननाथ बराल, पोखरा न्यूज – १८, मंसिर ।  १३ औं साग अन्तर्गत पोखरामा पनि हाल ८ खेलहरु संचालन भई रहदा अफ सिजनमा पनि पोखरामा होटल अकुपेन्सि भने करिब ६० प्रतिशत पुगेको छ ।

डिसेम्बर महिना पर्यटकको लागि अफसिजन जस्तै हो तर पोखरामा साग हुनुले पोखराको होटल अकुपेन्सि हाल करिब ६० प्रतिशतसम्म रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

साग लक्षित पोखरामा होटल अकुपेन्सि हाल करिब २० प्रतिशतले थप वृद्धि भएको अध्यक्ष तुलाचनले बताए । अफ सिजनको समयमा पोखरामा साग हुनुले आफुहरु सहित पोखरा क्षेत्रको यातायात देखि विभिन्न व्यवसायको समेत प्रवर्द्धन भएको उनले दाबी गरे । उनका अनुसार पोखरा क्षेत्रमा हाल पर्यटक स्तरिय साना, मध्यम र ठुला गरी करिब ८ सय होटलहरु रहेका छन्।

पर्यटकीय स्थल पोखरामा साग हुनु आफैमा पोखराको लागि राम्रो अवसर जुटेको जसले गर्दा पोखरामा खेलपूर्वाधार सहित यहाँको आर्थिक कृयाकलापलाई समेत यसले प्रत्यक्ष रुपमा फाइदा पुर्याएको उनको बुझाइ थियो ।

यही मंसिर १५ देखि २४ गतेसम्म संचालन हुने १३ औंं सागमा सहभागि हुन आएका ७ देशका खेलाडी, अफिसियल सहितका उनका आफन्त, साथीभाई र खेलकुदकर्मीको पोखरा आगमनले पोखराको होटल व्यवसायीहरुलाई यसले प्रत्यक्ष फाइदा पुगेको अध्यक्ष तुलाचनले जनाए ।

साग लक्षित पोखरामा पर्यटक स्तरिय ४५ वटा होटलहरु बुकिङ भएको आवास व्यवस्थापन समितिका संयोजक सुर्य बहादुर भुजेलले बताए ।

उनका अनुसार सागको अवसरमा एक हप्ता देखि दुई हप्तासम्म एक हजार भन्दा बढी खेलाडी, अफिसिलय सहितको टोली पोखरामा रहने भएको छ भने अन्य उनीहरुका आफन्त, साथी भाई र खेलकुदकर्मी गरी दैनिक जसो ३/४ हजार जना पोखरा क्षेत्रमा बसोवास गर्ने गरेकाछन्।

१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगतको महिला फुटबल प्रतियोगिताको मंगलबार भएको पहिलो खेलमा नेपालले श्रीलंका माथि १-० को विजयी शुरुवात गरेको छ । नेपाली फुटबलरलाई समर्थन गर्न खेलप्रेमी रंगशाला पुगेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button