सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन

दीननाथ बराल, पोखरा न्यूज – १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सम्पन्न भएको ट्राय्थलन खेलमा नेपालले २ स्वर्ण सहित ६ पदक हात पार्दै  च्याम्पियन बन्न सफल भएको छ । ५ स्वर्ण, ५ रजत र ५ कास्य पदकको लागि भएको स्पर्धामा नेपालले भारत र श्रीलंकालाई पछि पार्दै २ स्वर्ण, ३ रजत र १ कास्य पदक सहित यस खेलमा च्याम्पियन बन्न सफल भएको हो ।

आज (बुधबार) भएको मिक्स रिले ट्राय्थलनमा नेपालले रजत पदक प्राप्त गरेको हो । ३ सय मिटर स्वीमिङ, साढे सात किलोमिटर साइक्लिङ र साढे दुई किलोमिटर दौड १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा पार गरी नेपालले रजत पदक हात पार्न सफल भएकोे हो । नेपाली टिममा सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारु रहेका थिए ।

बुधबार भएको रिलेमा १ घण्टा ३५ मिनेट २० सेकेण्डमा उक्त दुरी पार गरी भारतले स्वर्ण पदक ल्याउदा १ घण्टा ४१ मिनेट २१ सेकेण्डमा उक्त दुरी पार गरी श्रीलंकाले कास्य पदक हात पार्न सफल भएको हो । भारतको टिममा प्राग्या मोहन, एम.एस. आदर्श, सोरोजिनी देवी, विश्वरजित साडखोम सहभागि भएका थिए भने श्रीलंकाको टिममा भने पुभिनि काहान्दावाला, आशंका निलवीरा, गयानी दशनायक र छलका रहेका थिए ।

तीन दिनसम्म पोखराको लेकसाइडमा चलेको ट्रायथलनमा महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले स्वर्ण पदक हात पार्न सफल भए भने दुआथलनमा पुरुषतर्फको विधामा लक्ष्मण मल्ल र सोही बिधामा महिला तर्फ हुमी बुढामगरले रजत पदक दिलाएकी हुन्। पुरुषतर्फको स्प्रिन्ट विधाको ट्राय्थलनमा बसन्त थारुले कास्य पदक दिलाएका थिए ।

त्यसै गरी ट्राय्थलनमा भारत दोश्रो र श्रीलंका तेश्रो भए । भारतले २ स्वर्ण, २ रजत र १ कास्य गरि ५ पदक हात पार्दा श्रीलंकाले १ स्वर्ण र ३ कास्य गरि कुल ४ पदक प्राप्त गर्यो । नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । ट्राय्थलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव तथा ट्राय्थलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

व्यक्तिगत तर्फबाट दिने घोषणा गर्दैश्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैया दिने घोषणा गरेका हुन् । त्यसैगरि संघका उपाध्यक्ष एवं गण्डकी प्रदेश सांसद दीपक कोइराला, बाबा फाउण्डेन र शिशिर सुवेदीबाट पदक विजेता खेलाडीलाई नगद दिने घोषणा गरेका छन् । स्वर्ण पदक ल्याउने नेपाली खेलाडीलाई २५ हजार, रजत पदकका लागि १५ हजार र कास्यका लागि १० हजार रुपैया दिने घोषणा गरेका छन् ।

उनीहरुले घोषणा गरेको उक्त रकम काठमाण्डौंमा एक समारोहका बिच केही समय पछि हस्तान्तरण गरिने भएको कास्की जिल्ला ट्राय्थलन संघका अध्यक्ष सुमन देवकोटाले बताए । विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, भारतका सेफ दि मिसन दुसिन्थ शर्मा, नेपाल ट्राय्थलनका संघका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे लगायतले पुरस्कार वितरण गरेका थिए ।

१३ औं सागको ट्राय्थलन पोखरामा भव्य रुपमा सम्पन्न भएको ट्राय्थलन प्रशिक्षक सानुभाई पौडेलले बताए । डिसेम्बर महिनामा पनि पोखराको फेवाताल सहितको ठाउँमा ट्रायथलन हुन नसक्ने भन्नेहरुलाई राम्रो झापड सहित नेपालले उत्कृष्ट प्रर्दशन गरेको उनले जनाए । हाल फेवातालको पानी २० डिग्रि सेल्सियस तापक्रम भएकोले यसमा सुइमिङ गर्न खेलाडीहरुलाई कुनै कठिनाई नभएको प्रशिक्षक पौडेलले बताए ।

यस अघिको १२ औं सागको ट्रायथलनमा नेपालले १ रजत र १ कास्य मात्र हात पारेको थियो । नेपाल ट्राय्थलनका संघका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले आफुहरुले विगत करिब दुई दशक पहिला सुरु गरिएको खेल आज पोखराकै भुमिमा आयोजना हुनु जसमा नेपाल ट्राय्थलनमा विजेता बन्नु थप खुसिको कुरा भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button