पोखरा सडक महोत्सवमा आतिसबाजी गर्ने तयारी

पोखरा न्यूज – १८ मंसिर ।  अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने पोखरा सडक महोत्सवमा यस बर्ष भने आतिसबाजी गर्ने तयारी गरिएको छ ।

१३ औं साग उद्घाटनको अवसरमा काठमाण्डौं र पोखरामा आतिसबाजी भएपछि त्यो भन्दा सभ्य र भव्य रुपमा आफुहरुले पनि यस बर्ष पुष १२ देखि १६ गतेसम्म हुने पोखरा सडक महोत्सवको अवसरमा आतिसबाजी गर्ने तयारी गरेको रेवान पोखराका सल्लाहकार सुर्य भुजेलले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

नेपालको कानुनले भने आतिसबाजीलाई प्रतिबन्ध लगाएको छ । पटका र पटकाजन्य वस्तु ओसार पोशार तथा बिक्रि वितरण गर्न नेपालमा कुनै अनुमति छैन । १३ औं सागको अवसरमा काठमाण्डौं र पोखरामा आतिसबाजी भएसँगै रेवान पोखराले गत वर्ष नगरेको आतिसबाजी यस वर्ष भने गर्ने तयारी गरेको हो ।

गण्डकी प्रदेशको भ्रमण वर्ष सन् २०२० को उद्घाटन कार्यक्रमसमेत महोत्सवको अवसरमा गर्ने तयारी गरिएको उनले जनाए । सडक महोत्सवका प्रोमोशनल टुर संयोजक समेत रहेका भुजेलले यस बर्ष प्रमोशनल टुर नेपालका विभिन्न ठाउँ हुदै भारतसम्म जाने योजना रहेको जनाए । भारतमा ५-६ जना पत्रकार लैजाने आफुहरुसँग योजना रहेको उनले जनाए ।

महोत्सवका वेला पोखरामा चर्को मुल्य अशुल्ने उपर कारवाही सम्म हुने गरी यस बर्ष पनि अनुगमन समिति गठन गरिने भएको रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराका सल्लाहकार गणेश बहादुर भट्टराईले बताए । प्रायः धेरै बर्ष देखि सडक महोत्सवको अवसरमा होटल तथा रेष्टुरेण्टमा धेरै पर्यटक तथा महोत्सवमा सहभागि दर्शकहरु ठगिने गरेका छन् भन्ने पत्रकारको प्रश्नमा रेवान पोखराका सल्लाहकार गणेश बहादुर भट्टराईले केही कमी कमजोरी भएको स्विकार्दै आगामी दिनमा सुधार गर्ने बताएकाछन्।

उनले भने “ पर्यटन क्षेत्रमा दुई-चार जनाले नराम्रो काम गर्दा त्यसले सिंगो पर्यटन क्षेत्रमालाई नै असर पार्ने भएकोले यदि यस बर्ष कसैले आफ्नो नियमित मुल्य भन्दा बढी शुल्क लिएको भेटिएमा स्थानीय ऐन अनुसार ठगि मुद्धासम्म चलाउनको लागि हामीले प्रहरीलाई सहयोग गछौं ।” पर्यटकहरु कहि ठगिदा र लुटिदा सबै पर्यटन व्यवसायी जवाफदेही हुनु पर्ने सल्लाहकार भट्टराईले बताए ।

यस बर्ष देखि महोत्सवको अवसरमा पर्यटक तथा दर्शक ठग्ने उपर कारवाही गरिने भएको उनले चेतावनी दिएका छन् । १३ औं साग काठमाण्डौं, पोखरा र जनकपुरमा हुनु विकेन्द्रिकरणको सिद्धान्त अनुसार भएको भन्दै उनले यस खेलको माध्यमबाट पर्यटन क्षेत्रमा धेरै सकरात्मक प्रभाव पारेको जनाए । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोख्रेलले पैसाको लागि धमिलो पानीमा केहीले माछा मार्न खोज्ने हुदा त्यस्ता गैर जिम्मेवार व्यत्तिहरुलाई निरुत्साहित गर्नुपर्ने बताए ।

नयाँ वर्ष र महान् चाड क्रीसमस मनाउन भारतको गोवा जाने प्रचलनलाई सडक महोत्सवले पोखरामै नयाँ गन्तव्यको रुपमा आफुहरुले स्थापित गर्दै आएको महोत्सव संयोजक लक्ष्मण बरालले बताए । सातै प्रदेश र पोखरा सेरोफेरोका संस्कृतिहरु पोखरा सडक महोत्सवमा प्रर्दशन गरिने भएको छ ।

सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नारासहित लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई महोत्सवमय बनाउने आफुहरुले तयारी गरिएको संयोजक बरालले जनाए । उनले भने “ सडक महोत्सवको अवसरमा पर्यटक सडकमै नाच्न, गाउन, खान र संगीतमय वातावरणमा झुम्न पाउँछन् ।” नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको भ्रमण वर्ष २०२० लाई समेत उक्त महोत्सवले थप सहयोग पुग्ने संयोजक बरालले विश्वास व्यक्त गरेकाछन्।

महोत्सव सफल पार्न रेबान पोखराका उपाध्यक्ष लक्ष्मण वरालको संयोजकमा र कार्यसमिती सदस्य नरेश भट्टराई, वसन्त गौतम सह संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मुलसमिति गठन गरिएको छ । उक्त महोत्सवबाट ८५ लाख आम्दानी तथा ७० लाख खर्च हुने अपेक्षा गरिएको रेवान पोखराले जनाएको छ ।

महोत्सवका मुख्य आकर्षणको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साँस्कृतिक कार्यक्रम, भारतीय, पाकिस्तानी साँस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति हुने पुर्व अध्यक्ष चौबहादुर गुरुङले बताए । ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुबाट लोक दोहोरी प्रस्तुति हास्य प्रदर्शन, रत्यौली गित प्रतियोगिता लगायतका कार्यक्रम हुने भएको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button