पोखरमा बिहीबारदेखि आर्चरी शुरु हुने, पाकिस्तान सहभागि नहुने

दीननाथ बराल, पोखरा न्यूज – १८ मंसिर । १३ औं साग अन्तर्गत  पोखरामा हुने आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भएको छ । मंगलबार सम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम अवस्थामा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नहुने उल्लेख गरेको नेपाल आर्चरी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए ।

उनका अनुसार नेपाल सहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागि हुने भएका छन्। भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६/१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन्। प्रतियोगिता बिहीबार बिहान करिब ८ः१५ बजे उद्घाटन पश्चात र्याङकिङ राउण्ड शुरु हुने भएको उपाध्यक्ष थकालीले बताए ।

टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्प्रर्धा हुने छ । त्यसै गरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्स तर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरु प्रतिस्प्रर्धामा उत्रिने भएका हुन्।

यस प्रतियोगितामा सहभागि खेलाडीहरुको विश्व आर्चरी महासंघले र्याङकिङ गर्ने भएको छ । स्मरण रहोस विश्व आर्चरी महासंघबाट प्रतिबन्ध (सस्पेन्स) भएको भारत १३ औं सागमा सहभागि नहुने भएको छ । अन्तिम समयमा आएर दबाबका बाबजुत दर्ता भएको भारतको आर्चरीको टिमलाई सागमा सहभागि नहुने साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले निर्णय गरेको हो ।

राखेपसंग आर्चरी प्रशिक्षण मैदानको लागि रकम माग गर्दा समेत नदिएकोले हाल आफुहरुलाई प्रशिक्षण मैदानको अभावमा खेल स्थलबाटै प्रशिक्षण हुने प्रबन्ध गरेको आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए । पोखराको क्रिकेट मैदानमा आर्चरीको प्रशिक्षण हुने तयारी गरिरहेको अबस्थामा महिला क्रिकेट भएसंगै आर्चरीलाई प्रशिक्षणको लागि ठाउँ अभाव भएको हो ।

पोखरामा आर्चरी यही मंसिर २३ गतेसम्म हुने भएको खेलाडी योगेन्द्र शेरचनले बताए । उनका अनुसार २२ र २३ गते पदकको लागि फाइनल राउण्ड हुन्छ भने अन्य दिनमा विभिन्न चरणमा प्रतिस्पर्धा हुने छ । सहभागि देशका खेलाडीहरुले बुधबार प्रतियोगिता स्थल तथा प्रशिक्षण मैदानमा पुगेर प्रशिक्षण समेत गरेकाछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button