तनहुँमा मादी नदी लिफ्टिङ आयोजनाको सर्भे शुरु

पोखरा न्यूज – १९ मंसिर । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भादगाउँ क्षेत्रमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्न मादी नदी लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सर्भे शुरु गरेको छ ।

पहिलो चरणको ‘भिजिबिलिटी सर्भे’ पश्चात् व्यास नगरपालिका–४ स्थित करीब तीन किलोमिटर दूरीको मादी नदी किनारमा पानी बोरिङ गरी लिफ्टिङ गर्न सर्भे थालेको हो । काठमाडौँस्थित बिन कन्सल्टेन्सीका प्राविधिक गणेश महतोको नेतृत्वमा आएको चार जनाको टोलीले मुख्य लाइनपछि शाखा लाइनको सर्भे थालेको छ । नगरपालिका–१ वडाका सबै क्षेत्रसाथै १२ नं वडाको केही क्षेत्रलाई समेटिने गरी काम थालिएको हो । टोलीलाई सर्भे गर्न अझै दुई महिना लाग्ने समितिले जनाएको छ । समितिले हाल चालू अवस्थाका तीन आयोजनाको पानीले व्यास नगरपालिका–१ भादगाउँस्थित २० टोलका दुई हजार २३७ घरमा पानीको धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।

नगरपालिका–१ स्थित छाब्दी खोलाबाट दुई वटा बोरिङ गरी लिफ्टिङ र –१३ स्थित खिरखाँदी खोलाबाट ‘ग्रावेटी’ माध्यमबाट ल्याइएको पानी सङ्कलन गरी भादगाउँ क्षेत्रमा पानी वितरण गरिदै आएको समितिका प्रबन्धक ईश्वर श्रेष्ठले जानकारी दिए । खिरखाँदी खानेपानी आयोजनाको रु १७ करोड र छाब्दी खोलाबाट हालै पम्पिङ गरिएको योजना रु ६४ लाखमा सम्पन्न भएको हो । खिरखाँदी खोला सदरमुकाम दमौलीदेखि करीब १३ किलोमिटर दूरीमा पर्दछ ।

छाब्दी खोलाको दुई स्थानबाट बोरिङ गरी पम्पिङ गरिएको पानी प्रतिसेकेण्ड नौ लिटर र खिरखाँदी खोलाको प्रतिसेकेण्ड नौ लिटर गरी १८ लिटर प्रतिसेकेण्ड पानी सङ्कलन हँुदै आए पनि एक दिन बिराएर दिनको दुई घण्टा पानी वितरण गरिदै आएको प्रबन्धक श्रेष्ठले बताए । बस्ती बिस्तार हुँदै जान थालेपछि पानीको समस्या खड्किन थाल्यो । उनले भने, “दीर्घकालीन योजनासहित करीब ३० वर्षपछिसम्मका लागि मध्यनजर गर्दै खानेपानीको विकल्प खोजिएको हो ।”

नयाँ आयोजनाअन्तर्गत मादी नदी किनारमा दुई मोटर र दुई पाइप जडान गरी पम्पिङ गरिएको पानी ‘ट्रिटमेन्ट प्लान्ट’ मा राखेर वितरण गरिने समितिले जनाएको छ । उक्त आयोजनामा सरकारको ७० प्रतिशत, स्थानीय श्रमदान २० प्रतिशत र स्थानीयको १० प्रतिशत नगद बेहोर्नुपर्ने प्रावधान रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले बताए ।

उक्त आयोजनाको लागत करीब रु ३५ करोड छ । अध्यक्ष दरैले भने, “टेण्डर गरेको दुई वर्षभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।” निर्माणाधीन आयोजनाको प्रतिसेकेण्ड ३५ लिटर पानीको क्षमता रहेको बिन कन्सल्टेन्सीका इञ्जिनीयर निर्जल ढकालले जानकारी दिए । उक्त वडाको उचाइ क्षेत्रमा रहेका बस्ती भदु्रडाँडा र गल्बुडाँडामा समेत पानीको सुविधा पुर्याउने उद्देश्यले अमिली भञ्ज्याङमा रिजर्भ ट्याङ्की निर्माण गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button