भारोत्तोलनमा नेपाललाई पहिलो कास्य

पोखरा न्यूज – १९ मंसिर । नेपालकी संगीता राईले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।  पोखरा-१२ माटेपानीस्थित एसआर केसी बैंक्वेटमा बिहीबारदेखि सुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड भंग गरेकी हुन् ।

२६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन् । यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए ।

सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलंकाकी सीमारी सामाराकुलले १ सय ३९ भार गर्दै रजत जितिन् । श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन् ।

यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो । प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कास्य जितेको छ ।  भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कुल १५७ केजी भार बहन गर्दै श्रीलंकन खेलाडी हसानीलाई पछि पारिन् । हसानीले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कुल १५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन् । बंगलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन् । उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन् । विजयीलाई बिहीबार नै पदक हस्तान्तरण गरिएको छ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिम्भबाहेक सबै देशको सहभागिता छ । भुटानको यो पहिलो सहभागिता हो । महिला र पुरुषतर्फ दश – दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ । बिहीबार नै पुरुषतर्फ ५५, ६१ केजी तथा महिलातर्फ ५५, ५९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button