माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा, साम्बाको ह्याट्रिक

सुब्रत ढकाल, पोखरा न्यूज – १९ मंसिर । साग महिला फुटबलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ । नेपालको जीतमा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरिन् ।

आज पोखरा रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्स माथि सहज जीत हासिल गर्दै दाबेदार भारतसँगको उपाधि भिडन्त तय गरेको हो । नेपालले पहिलो हाफमा साम्बाको दुई गोल मार्फत अग्रता लिएको थियो । १६ औं मिनेटमा पहिलो गोल गरेकी साबित्राले २१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । उत्कृष्ट खेल खेलेको नेपालले निरन्तर आक्रमण बुने पनि फिनिसिङको अभावमा पहिलो हाफमा दुई गोल भन्दा ठुलो अग्रता लिन भने सकेन ।

दोस्रो हाफमा पनि आक्रामक फुटबल नै खेलेको नेपालले अग्रतालाई तेब्बर पार्न भने खेलको अन्तिम क्षणसम्म कुर्न पर्यो । खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै साबित्रा खेललाई नेपालको पक्षमा फिनिसिङ टच दिइन् । यससँगै साबित्राको अन्तर्राष्ट्रिय फुटबल खेलमा ३८ गोल भएको छ जुन नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान पनि हो । यस अघि अनु लामाको ३५ गोल नेपाली टोलीका लागि सर्वाधिक गोलको कीर्तिमान थियो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा भारतको सामना गर्नेछ । भारतले आजै श्रीलंकालाई ६-० पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो भने अघिल्लो खेलमा भारतले माल्दिभ्सलाई ५-० गोल अन्तरले हराएको थियो । नेपालले भने आफ्नो अघिल्लो खेलमा श्रीलंकालाई १-० ले हराएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button