पोखरामा महिला फुटबलको फाइनलमा ४ हजार दर्शक मात्र प्रवेश गराउने तयारी

दीननाथ बराल, पोखरा न्यूज – २३, मंसिर । पोखरा रंगशालामा हतार हतारमा निर्माण गरिएको फुटवल स्टेडिएममा १३ औं साग अन्र्तगतको महिला फुटवल प्रतियोगिताको आज सोमबार हुने फाइनल खेलमा  ४ हजार दर्शक मात्र प्रवेश गराउने तयारी गरिएको छ । स्वर्ण पदकको लागि नेपाल र भारत बिच हुने फाइनल खेल अवलोकन गर्नको लागि ४ हजार  फुटवल प्रेमीलाई प्रवेश गराइने भएको राखेप सदस्य एवं खेलस्थल व्यवस्थापन समिति पोखराका संयोजक राजेश कुमार गुरुङले बताए ।

उनका अनुसार भिआइपि सहितको अन्य पास गरि करिब २ हजार ७ सय जनालाई सिट छुट्टाईएको छ र बाँकी ४ हजार जनाको लागि मात्र टिकट बिक्रि हुदैछ । गुरुङका अनुसार फाइनल खेलमा गेट नम्बर एकबाट खेलाडी, सुरक्षाकर्मी र भिआइपिहरुको लागि प्रवेश गराइनेछ  भने गेट नम्बर २ बाट टिकट र पास हुनेलाई प्रवेशको व्यवस्था गरिएको छ । सोमबार पोखरा रंगशालाका ३, ४, ५ र ६ गेटहरु सवै खुल्ला गरिने भएको उनले जनाए । आज दिउसो १ बजे महिला फुटबलको स्वर्ण पदकको लागि पोखरा रंगशालामा नेपाल र भारत भिड्दै छन् ।

नेपाल र भारत बिच लिगको अन्तिम खेलमा  शनिबार खेल शुरु हुनुपुर्व र खेल संचालन भएसंगै टिकट बिक्रि बन्द गरिएको थियो । अत्याधिक दर्शक आएसंगै आफुहरुसंग सिट क्षमता कम भएकोले सुरक्षाको दृश्टिले सिट क्षमताको आधारमा मात्र दर्शकलाई प्रवेश गराइएको संयोजक गुरुङले जनाए ।

पोखरा रंगशालाको फुटवल प्यारापिटमा हाल करिब ५ हजार ५ सय मात्र सिट क्षमता भएकोले गर्दा आफुहरुले चाहेर पनि धेरै दर्शक भित्राउन नसकिएको १३ औं साग पोखरा श्रोतसाधन परिचालन समितिका संयोजक संजिव बहादुर कोइरालाले बताए । उनका अनुसार सागको खेल अवलोकन गर्दा यस पटक प्रवेश शुल्क लिईएको छ । मंगलबारदेखि पोखरामा महिला फुटवल खेल सुरु भएसंगै दर्शकहरुको उल्लेखनिय रुपमा सहभागि हुन थालेको संयोजक कोइरालाले बताए ।

पोखरामा खेल अवलोकन गर्दा पहिलो पटक टिकटमा  कर लगाइएको छ । १३ औं साग अन्र्तगत पोखरामा भएका केही खेलहरु अवलोकन गर्दा दर्शकसंग लिने प्रबेश टिकटमा कर लगाउने गरी टिकट बिक्रि वितरण गरिएको १३ औं साग पोखरा श्रोतसाधन परिचालन समितिका संयोजक संजिव बहादुर कोइरालाले बताए ।

उनले भने “ हामीले दर्शकसंग लिएको प्रवेश शुल्कमा १३ प्रतिशत भ्याट सरकारलाई तिर्ने गरी प्रवेश शुल्कको टिकटमा कर लगाएका हौं । ” पोखरा रंगशालाको इतिहासमै पहिलो पटक खेल अवलोकन गर्दा प्रवेश शुल्क लिदा उक्त टिकटमा कर लगाइएको पोखराका फोटो पत्रकार शुर्दशन रञ्जितले बताए । उनले भने “ हाम्रो खेलकुदमा धेरै बेतिथी र अनियमितता छ, सागमा हाल भए जस्तै प्रवेश शुल्कमा कर कट्टिको व्यवस्था गर्नु धेरै राम्रो परिपार्टीको सुरुवात भएको छ, अब यसलाई अवलम्बन गर्नुपर्छ । ”

एक अर्ब २८ करोडको लागतमा हाल निर्माण हुदै गरेको पोखरा फुटवल स्टेडिएममा हाल ६ हजार २ सयको सिट क्षमता भएको प्यारापिट निर्माण भएको निर्माण कम्पनिका प्रोजेक्ट म्यानेजर दीपक बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button