
पोखरा न्यूज – १५, पुष । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखराको लेकसाइडमा जारी २१ औं पोखरा सडक महोत्सवमा दिनानुदिन आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।
आज गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको सार्वजनिक बिदाको दिन तथा महोत्सबको मुख्य दिन समेत भएकाले पनि महोत्सब स्थलमा बिहानैदेखि चहलपहल बढेको छ ।आज राति १२ बजे अंग्रेजी नयाँ वर्ष २०२० लाई स्वागत गरिने भएकाले पनि डिसेम्बरको अन्तिम दिन आज आन्तरिक तथा बाह्य पर्यटकको चाप महोत्सव स्थलमा बढेको छ । नयाँ वर्षको स्वागतार्थ आज पोखराको लेकसाइड मध्यरात सम्म जाग्दै छ ।
महोत्सव स्थलमा मंगलबार दिउसो लोकदोहोरी तर्फ भुमिका गिरी, पार्वती जिसी, तुलसा क्षेत्री, दिलु लामा, राजु परियार, कुमार पुन, चोलेन्द्र पौडेल र राजन कार्की लगायतको प्रस्तुती रहेको छ । नयाँ वर्षको स्वागतको लागि राजु लामा ( मंगोलियन हार्ट) र कर्मा व्याण्ड लगायतको प्रस्तुतीले मध्यरात १२ बजेसम्म दर्शकहरुलाई मनोरञ्जन दिलाउने महोत्सबका प्रचारप्रसार उपसमिति संयोजक विश्वराज पौडेलेले जनाए । नयाँ बर्षको स्वागतको लागि महोत्सब स्थल कोमागाने पार्क तथा सडक क्षेत्रमा पर्यटकहरु भरिभराउ भइसकेका छन् ।
महोत्सवका संयोजक लक्ष्मण बरालले महोत्सबमा आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको बताउदै खुसि ब्यक्त गरे । महोत्सब स्थलमा आइतबार देखिनै दर्शकको उपस्थिति बाक्लिएकोमा आज मंगलबार चाप बढेको उनले बताए । सोमबारको उपस्थिति र मंगलबार दिउसोसम्मको उपस्थिति हेर्दा महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाइ निकै आकषिर्त पारेको आफुले महशूस गरेको उनले बताए। उनले पोखरा न्युज डट कम सँग भने , “महोत्सबकै लागी भनेर देशका विभिन्न भू-भागवाट दर्शक पोखरा आएको हामीले पाएका छौ।”
नयाँ बर्ष मनाउन पोखरामा पर्यटकको घुइचो लागेकोले पोखराका मध्यम स्तरका होटलहरु पर्यटकले भरिभराउ भएको जानकारी आएको पोखरा पर्यटन परिषद्का महासचिव दिलु गौतमले पोखरा न्यूजलाई बताए । पोखरामा रहेका पर्यटकीय स्तरका होटलमा एक रातको सामान्यतया १ हजार देखि १० हजारसम्म लिने गर्दछन । अंग्रेगी नयाँ बर्षको अवसरमा पोखरामा केहि होटल व्यवसायीहरुले दोब्बर देखि चार/पाँच गुणासम्म शुल्क लिने गरेको पर्यटकहरुले गुनासो गर्दै आएका छन् । आयोजकले भने कसैले चर्को मुल्य लिएमा कारवाही हुने बताउदै आएको छ ।
पोखरामा जारी पोखरा सडक महोत्सवले विदेशी पर्यटकहरुको तुलनामा आन्तरिक पर्यटकहरु बढी आकर्षित भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । सडक महोत्सवको बेला पोखराका बिभिन्न पर्यटकीय स्तरिय होटलमा मात्र एकै रातमा ३०/३५ हजारको हाराहारीमा पर्यटकहरुले रात विताउने गरेको तुलाचन बताउछन् ।
पाँच दिन सम्म चल्ने पोखरा सडक महोत्सव बुधबार राति समापन हुनेछ ।





