त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै

सिबी अधिकारी – २२, पुष । दैनिक करिब २० हजार यात्रु आवतजावत गर्ने मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्रमिकरुपमा क्षमता विस्तारको काम भइरहेको छ ।

हालको अन्तरराष्ट्रिय विमानस्थल सबै हिसाबले पूर्ण क्षमताका साथ सञ्चालनमा आउँदा ९० हजार यात्रु क्षमताको हुन्छ । पछिल्ला वर्षमा हवाई यात्रुको चाप बढेसँगै विमानस्थल पनि साँघुरो हुँदै गइरहेको छ । अहिले विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय गरी वार्षिक ७२ लाख यात्रु पुगेका छन् । विमानस्थमा दुवैतर्फ गरी दैनिक ५ सय हाराहारी जहाजको ओहर दोहर हुने गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २००९ को तुलनामा सन् २०१८ मा दुई गुणा यात्रुको सङ्ख्या बढेको छ । यसले आगामी दिनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप बढ्ने अनुमान गर्न सकिन्छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्ला १० वर्षमा यात्रुको चाप निरन्तर बढ्दै गएको र हालको विमानस्थलले धान्न नसक्ने बताए । सन् २०२१ सम्म यात्रुको वार्षिक सङ्ख्या ९० लाख पुग्ने देखिएको छ । बढ्दो चापलाई व्यवस्थापन गर्न वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलको अति आवश्यक भएको महानिर्देशक पोखरेलले बताए ।

विमानस्थलमा बढ्दो यात्रुको चापसँगै थपिएका वायुसेवाको सहज व्यवस्थापनका लागि प्राधिकरण लागि परेको छ । विमानस्थलको क्षमता अभिवृद्धि गर्ने र हवाई उडानलाई सहज बनाउने उद्देश्यका साथ काम भइरहेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थलको क्रमिकरुपमा क्षमता विस्तारको काम भइरहेको तथा धावनमार्ग र टयाक्सी वे जीर्णोद्धारको काम सकिएलगत्तै अहिले धावनमार्गसंगै प्यारालल ट्याक्सी वे को बोलपत्र प्रक्रिया अघि बढेको जानकारी दिए ।

उक्त काम सकिएपछि जहाजलाई मुख्य धावनमार्गमा जान सहज र छिटो हुनेछ । जसले उडान चापलाई न्यूनीकरण गर्नेछ । अन्तरराष्ट्रिय टर्मिनल भवनमा डिपार्चर हल थपिँदैछ । विमानस्थलको आवागमनतर्फ थप दुई ‘कन्भेर वेल्ट’ थपिँदै छन् । हाल चार मात्र छन् । यसले यात्रुलाई ब्यागेज लिन छिटो हुनेछ । हाल आधा घण्टादेखि ४५ मिनेटभित्र यात्रुले ब्यागेज लिइसक्छन् ।

महाप्रबन्धक केसीले ‘बुटिक एयरपोर्ट’ को अवधारणाअनुरुप विमानस्थलको सौन्दर्यकरणसँगै क्षमता अभिवृद्धिको काम पनि साथसाथै भइरहेको बताए । पछिल्ला दिनमा विमानस्थलको मर्मत र क्षमता वृद्धिपछि अहिले उडान व्यवस्थापनमा धेरै सहजता आएको उहाँको भनाइ छ । धावनमार्ग स्तरोन्नतिका साथै जहाज पार्किङ विस्तार तथा यात्रु कक्षको क्षमता बढाउनेलगायत कार्यमा विमानस्थल निरन्तर लागि परेको छ । मुलुकको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग र ‘ट्याक्सी वे’ को जीर्णोद्धारको काम सम्पन्न भएको छ । योसँगै अहिले अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन भइरहेको छ ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१८ अन्तरराष्ट्रिय उडानतर्फ ४३ लाख ४२ हजार ४ सय ८६ यात्रुको आवागमन भएको छ । सन् २०१७ मा कूल ३८ लाख ८७ हजार ८ सय ४५ यात्रुको आवागमन भएको थियो । आन्तरिकतर्फ सन् २०१८ मा २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३ सय ९० पुगेको थियो । सन् २०१९ को अक्टोबरसम्म २७ लाख ३७ हजार १ सय ७२ यात्रुको आवागमन भएको देखिन्छ । यो वर्ष करिब ३३ लाख हवाई यात्रु आवागमन हुने अनुमान गरिएको छ ।

विमानस्थमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ अबको दुई महिनाभित्रै सञ्चालनमा आउनेछ । प्राधिकरणका महानिर्देशक पोखरेलका अनुसार फेब्रुअरीको अन्तिमसम्म रिमोट पार्किङको काम सकिनेछ । यो स्थानमा दुई वाइडबडी र दुई न्यारो बडी जहाज पार्किङ गर्नसकिने छ । प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ)को रु एक अर्ब छ करोडको लागतमा विमानस्थलमा दुईवटा ‘पार्किङ वे’ निर्माण गरिरहेको हो । रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको चाप नियन्त्रण गर्न सघाउ पुग्ने प्राधिकरणले जनाएको छ ।

दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महिनादेखि नै सञ्चालनमा आइसकेको छ । उक्त पार्किङ क्षेत्रमा दुई वाइडबडी र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ । अन्तरराष्ट्रिय टर्मिनलमा नौवटा जहाज मात्र पार्किङ क्षमता छ । उत्तरपूर्वी पार्किङ वे सञ्चालनमा आएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय पार्किङ वेको सङ्ख्या ११ पुगेको छ ।

विमानस्थलको उत्तरतर्फ पनि पाकिङ क्षेत्र निर्माणको प्रक्रिया अघि बढेको विमानस्थलले जनाएको छ । आन्तरिक उडानतर्फ २२ साना जहाज राख्न सकिने क्षमताको उक्त पार्किङको बोलपत्र आह्वान भइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । करिब रु आठ अर्बको बोलपत्र आह्वान भएको छ । यो तीन वर्षभित्र निर्माण सकिनेछ । हाल आन्तरिकतर्फ १७ जहाजको पार्किङ क्षमता भए पनि ३५ सम्म जहाज अटाइँदै आइएको छ ।

रिमोट पार्किङ वे सञ्चालनले विमानस्थलको चाप हटाउन तथा विमानस्थलमा आइ पर्नसक्ने अन्य सुरक्षा चुनौती समाधान गर्न सहयोग पुग्ने प्राधिकरणका महानिर्देशक पोखरेलले बताए । “अहिले विमानलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ, यसले त्यो समस्या समाधानमा सहयोग गर्नेछ, यस्तै ग्राउन्डेड भएका जहाज पार्किङ गर्न पनि यसको उपयोग हुनेछ”, उनले भने । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रियतर्फ हाल तीन नेपालीसहित २८ र आन्तरिकमा १० हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button