पोखरामा ‘सुर–साधना’मा लोक लयमा आधारित गीत घन्किए

राजाराम पौडेल, पोखरा न्यूज – २६ पुष । पोखरामा शनिबार लोकलयमा आधारित गीतहरु घन्किए । पोखरा थिएटरको गन्र्धव नाटकघरमा आयोजित ‘सुर–साधना’ कार्यक्रममा लोक लयमा आधारित गीत सुनाइएको हो । पोखरा थिएटर, संगीत प्रशिक्षण केन्द्रको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा अग्रज तथा अनुज कलाकारले आफ्नो प्रस्तुती राखे । यसरी प्रस्तुती राख्नेमा विवेक ढकाल, रिचा सुवेदी, दिक्षा ढकाल, विद्या पाण्डे, कमला थापा, टिना गुरुङ, किशोर सुवेदी, एम.डि. काफ्ले, धन बहादुर गायक, रोम तामाङ, जय चापागाई र पार्वती थापा थिए । उनीहरुलाई संगीतमा मिलन गिरी र रोम तामाङले साथ दिए । उनीहरुको प्रस्तुतीमा उपस्थित दर्शक रमाए ।

यो पाँचौ संस्करणको कार्यक्रम थियो । सुर–साधना अन्तर्गत यसअगाडि शास्त्रिय गायन, पुराना सर्जकका गीत, मालश्री गायन, आफ्नै र्सजनामा पोखरेली संगीत गरी चार श्रृखला सम्पन्न गरिएको र पाँचौ श्रृखलापनि संगीतप्रेमीको सहभागीता सम्पन्न भएको कार्यक्रम संयोजक रोम तामाङले बताए ।

सुर–साधना कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार साँझ साढे ४ बजे पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना हुँदै आएको छ । संगीतको उत्थानको लागि आयोजित यो कार्यक्रम नयाँ प्रतिभाको लागि अवसर हुने गरेको छ । कार्यक्रमलाई निरन्तर रुपमा आयोजना गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

पोखराको साँगीतिक माहोललाई अगाडी बढाउदै नयाँ पुस्ताको आर्कषण संगीत क्षेत्रमा थप्न यो कार्यक्रमले सघाउने आयोजकको विश्वास छ । निःशुल्क रुपमा प्रवेश गरी संगीतको धुन सुन्दै रमाउने अवसर यहाँ मिल्नेछ । यस कार्यक्रममा नयाँ प्रतिभाले आफ्नो प्रतिभा सुनाउन समेत पाउनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button