पोखरामा नाटक ‘गलबन्दी’ मञ्चन हुने

राजाराम पौडेल, पोखरा न्यूज – २७, पुष । पोखरामा  नाटक ‘गलबन्दी’ माघ ८ गते मञ्चन हुने भएको छ । प्रतिभा माध्यामिक विद्यालयका विद्यार्थीले अभिनय गर्ने यो नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ ।  विद्यालयका शिक्षक विमला श्रेष्ठले नाटक लेखेकी हुन् । नाटक लेखनमा उनको नयाँ अनुभव हो । नाटक सन्देशमुलक छ । बाल मनोविज्ञानानसँग सम्बन्धित भएकोले यो नाटक विद्यार्थीले मात्र नभई अभिभावकले समेत हेनुपर्ने लेखक श्रेष्ठ बताउँछिन् ।

‘बाबुनानानीलाई अभिभावकले पर्याप्त समय दिन नसक्दा कस्तो समस्या पर्छ नाटकमा देखाउन खोजिएको छ’ उनले भनिन् । व्यस्त जीवनका कारण पछिल्लो समयमा अभिभावकको ध्यान बाबुनानीमा कम पर्न थालेकोले बाबुनानीलाई पर्याप्त समय दिनुपर्नेमा नाटक मार्फत जोड दिइएको छ ।  गलबन्दी नाटकमा विधान वाग्ले, तुलसा भट्टराई, सुप्रिया पौडेल, अमिर गोतामे, ममीना पुन, अनिता भुजेल, सोफिया दाहाल, अस्मी कोइराला, कृपा अग्रहरी, शंशाक श्रेष्ठ र बिप्लव रेग्मीको अभिनय रहनेछ ।

कक्षा ६ मा अध्ययनरत सुप्रिया पौडेलसँग थिएटर पुगेर नाटक खेलेको र हेरेको अनुभव छ । उनले यसअघिनै १५ दिनको नाटक कोर्ष सिकिसकेकी छन् । बाबा, ममिले बच्चालाई पैसा र खेलाउनी कुरा दिएर मात्र हुँदैन पर्याप्त समय पनि दिनुपर्छ भन्ने सन्देश नाटकमा भएको उनले बताइन् । उनको भविष्यको लक्ष्य कलाकार बन्ने हो । थिएटरमा पुगरेर साथीहरुमाझ नाटक देखाउन पाउने भएकोले उनी उत्साहित छन् ।

 

कक्षा ७ मा अध्ययनरत तुलसा भट्टराई पहिलोपटक नाटकमा अभिनय गर्न पाएकोमा खुशी छन् । उनको मनमा भएको डल विस्तारै हट्दैछ । उनको पनि भविष्यमा कलाकार बन्ने धोको छ । पोखरा ग्रैहापाटनका विधान कोइराला पहिलोपटक नाटकमा अभिनय गर्दैछन् । भविष्यमा इञ्जिनियर बन्ने बताउने उनमा कलाकारिता क्षेत्रमा मोह छ । सन्देशमुलक नाटक भएकोले सबैलाई नाटक हेर्न उनी आग्रह गर्छन् ।  कक्षा ४ मा अध्ययनरत अस्मि कोइरालाको लक्ष्य आर्मी बन्ने हो ।

अभिनय पहिलोपटक गर्न लागेपनि थिएटरमा पुगेर नाटक हेरेको अनुभव भने उनीसँग छ । यो नाटकको निर्देशन हरि प्रसाद खनालले गर्दैछन् । उनी सोही विद्यालयका शिक्षक हुन् । बाबुनानीलाई पर्याप्त समय नदिदाँखेरी उनीहरु पर्ने असरलाई नाटक मार्फत देखाइने निर्देशक खनालले बताए ।

प्रतिभा माध्यामिक विद्यालयका प्रिन्सिपल विश्व गोपाल पराजुली यस वर्षबाट अतिरिक्त क्रियाकलाप अन्र्तगत विद्यालयमा अभिनय सिकाउने थालेको बताउँछन् । ‘यस अगाडि संगीत र नृत्यलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत राखी इच्छुक विद्यार्थीलाई सिकाइरहेका थियौँ, यो वर्षबाट अभिनय पनि थपिएको हो’ उनले भने । विद्यार्थी तथा अभिभावकको सकारात्मक प्रतिक्रिया मिलेकोले अभिनय कक्षालाई आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए । ‘बच्चाहरुलाई नाटक भनेको के हो भन्ने बुझ्न पाएका छन्, उनीहरुमा रंगमञ्चप्रति उत्साह थपिएको छ’ उनले थपे ।

गलबन्दी नाटक ४० मिनेटको अवधिको हुनेछ । यो नाटक पोखरामा आयोजना हुने यो महानगर स्तरिय विद्यालय नाटक महोत्सवमा मञ्चन हुनेछ । माघ ८ गते नाटक विहान साढे ११ बजे र दिउँसो २ बजे गरी कुल दुई सो मार्फत नाटक मञ्चन गरिनेछ । सोही दिन दिउँसो १ बजे अन्र्तक्रिया कार्यक्रमको आयोजना समेत हुनेछ । यतिबेला नाटकको रिर्हसल भइरहेको छ । सबैको मेहनतका कारण नाटक उत्कृष्ट बन्ने विद्यार्थीहरुको विश्वास छ ।

नेपाली रंगमञ्चमा बालबालिका केन्द्रित गतिविधि नगन्य मात्रामा हुदै आइरेहको सन्दर्भमा महोत्सव आयोजना गरी नयाँ पुस्ताको आर्कषण नाट्य क्षेत्रमा थप्ने थिएटरको तयारी भएको पोखरा थिएटरका सञ्चालक मध्येका एक दिल प्रसाद गुरुङ्गले जनाए । महोत्सवमा पुगेर नाटक हेर्न सर्वसाधरणका लागि २ सय र विद्यार्थीका लागि १ सय रुपैयाँको टिकट लाग्नेछ । पोखरा थिएरटरको आयोजनामा हुने महोत्सवमा कुल ९ नाटक मञ्चन हुनेछन् । महोत्सव माघ ६ गतेदेखि माघ १४ गतेसम्म चल्नेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button