माघे संक्रान्तिमा ढुङ्गेसाँघुमा मेला

राजाराम पौडेल, पोखरा न्यूज – २९ , पुष । नेपालीले मनाउने माघे संक्रान्ति पर्वको आफ्नै महत्व छ । यस पर्वलाई देशका विभिन्न स्थानमा रहेका भिन्न भिन्न समुदायले आ-आफ्नै तरिकाले मनाउने गर्दछन् ।  बुधबार परेको यो पर्व देशभर स्नान, दान लगायत विभिन्न धार्मिक कार्य गरी मनाउने गरिन्छ । माघे संक्रान्तिको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ ।

त्यस दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडी लगायतका परिकार खाने गरिन्छ । थारु समुदायले यस पर्वलाई नयाँ वर्ष प्रारम्भ भएको दिनका रुपमा मनाउने गर्छन् । थारु समुदायले माघी भनेर मनाउँछन र नयाँ वर्ष मान्ने गर्छन् । थारु समुदायमा माघी पर्वको अवसरमा आफ्ना चेलीहरुलाई उपहार दिने चलन छ । सूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्र्मी मौसमको प्रारम्भ हुने गर्दछ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न, खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ ।

माघे संक्रान्ति पर्वको अवसरमा पोखराको ढुङ्गेसाघुमा मेला लाग्ने गर्दछ । विना प्रचार–प्रसार वर्षेनी आयोजना हुँदै आएको यो ढुङ्गेसाँघुको मेलाको अवलोकन गर्न हजारौ दर्शक पोखराको ढुङ्गेसाँघु पुग्ने गर्दछन् । परम्परागत रुपमा लाग्दै आएको यो मेला हेर्न पुगेका दर्शकको भिँडलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे पर्दछ । प्रत्यक वर्ष माघेसंक्रान्तिको दिन लाग्दै आएको मेलामा नपुग्नेलाई लाग्न सक्छ, अब त मेला पनि लाग्न छाड्यो होला भनेर । किनभने यस्ता मेलाले संचारमाध्यममा प्रचार पनि पाउन छाडिसकेका छन् । तर वर्षभरीलाई चाहिने कुटो, कोदालो मात्र नभएर नाङ्गलो, मान्द्रो अनि हसिँयासम्म किन्नका लागि जानेहरुको भीड घटेको अझैे छैन । यस्को पुष्टि धार्मीक तथा साँस्कृतिक महत्व बोकेको पोखराको ढुङ्गेसाँघु मेलामा पुग्ने दर्शकको भिडबाट हुन्छ ।

मेला र महोत्सवको हबको रुपमा परिचय बनाएको पोखरामा मेला र महोत्सवको आयोजना गर्ने क्रम जारी रहेको छ । यसरी आयोजना हुने मेला र महोत्सव भन्दा ढुङ्गेसाँघुको मेलाको बेग्लै आर्कषण रहने गर्दछ । ढुंगेसाघुँमा वि.स.१८६४ सालबाट निरन्तर रुपमा मेलाको आयोजना गर्न थालिएको हो । भगवान राम र सिताले माघेसंक्रान्तिको दिनमा त्यहाँ बसेर खाजा खाएको धार्मीक विश्वास रहेकोले शखर, चिउरा, तरुल खानेगरी मेलाको आयोजना गर्न थालिएको किम्बदन्ती छ । मेलाको आर्कषणमा घरायसी सामानको विक्रि, मन्दिरको दर्शन र खेलकुद प्रतियोगीता रहन्छ ।  पोखराको वडा नं. १५ र १७ लाई जोड्ने ढुङ्गाको पुल त्यस ठाउँमा रहेकोले त्यसलाई ढुङ्गेसाँघु भन्ने गरीएको हो । पोखराका अन्य ठाउँमा मेला–महोत्सवको आयोजना हुन नथाल्दै ढुङ्गेसाँघुको मेलाको आयोजना गरिदै आएको दावी गरिन्छ ।

हुनपनि पोखराको देउराली समुहले वि.स.२०५२ सालको अन्त्यतिर बजारमा ल्याएको ‘अन्योल’ नामक एल्बममा समावेश गरिएको ‘ढुङ्गेसाँघुको मेलामा’ बोलको गीतले कमाएको चर्चा अझैसम्म कायमै छ । शान्त बज्राचार्यले स्वर रहेको गीत ढुङ्गे साँघुको मेला अर्थात् माघे संक्रान्तिको बेलामा पोखरा आसपासमा निकै बज्ने गर्दछ । स्व. विनोद गौचनले २०५५ सालमा ‘ढुङ्गेसाँघुको मेलामा’ कवितासंग्रह प्रकाशन गरे भने पोखरेली गायक उज्वल भण्डारीले आफ्नो दोस्रो एल्बम घरको चिनारीमा ‘यसपाली ढुङ्गेसाँघुमा’ गीत समावेश गरे । यतिमात्र हैन ढुङ्गेसाँघुमेलाको महत्वको बारेमा चर्चा गरेर विभिन्न श्रष्टाले सिर्जना गरेका कृतिले झनै यो मेलाको महत्वलाई प्रष्ट्याउँदछ । वर्षभरीलाई चाहिने कुटो, कोदालो मात्र नभएर नाङ्गलो, मान्द्रो अनि हसिँयासम्म किन्नका लागि जानेहरुको भीड यहाँ हुन्छ ।

सदाशिवजि सिद्धेश्वर हरिहर मन्दिर समितिद्धारा आयोजित मेलामा प्रचारप्रसार विनानै दर्शकको सहभागिता उल्लेख्य हुने गरेका स्थानिय ऋषिराम भण्डारीले बताए । त्यहाँ रहेका सदाशिवजी सिद्धेश्वर हरीहर मन्दिर, सिता मन्दिर, शिव मन्दिर, नारायण मन्दिर, सिद्धेश्वर मन्दिर, गणेश मन्दिरमा विहानैदेखि साँझसम्म भक्तजनको भीड लाग्दछ ।  यसपाली मेलाको आर्कषणमा भजन गीत, भाववत कथा, कन्दमुल प्रतियोगीता, कराते प्रतियोगीता, गण्डकी स्नान, तहाँ रहेका मन्दिरको सहज दर्शन, घरायसी सामानको विक्रि आदी रहने आयोजकले जनाए ।  हाल महिनैपिच्छे विभिन्न ठाउँमा मेला र महोत्सवको आयोजना भइरहेपनि परापूर्वकालदेखि चलिआएको यो मेलाको संंरक्षण र व्यवस्थापनमा खासै ध्यान पुग्न सकेको देखिदैन ।

माघे संक्रान्तिको दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्छ । इलाम जिल्लाको माइबेनी र झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन विहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन् ।  चर्चित माघे सङ्क्रान्ति मेला रूरू क्षेत्र रिडीमा तीन दिनसम्म लाग्छ । धार्मिक र पर्यटकीय महत्व बोकेको तनहुँको देवघाटमा तीन दिन मेला लाग्छ । मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवन गरिन्छ । नेवारहरु यस पर्वलाई ‘घ्यूचाँकु सँल्हु’ भन्दछन् । तराइका जिल्लाहरुमा मैथेलीले यस पर्वलाई तिला संक्रान्ति पर्वको रुपमा मनाउछन् । माघे सक्रान्तिलाई मगर समुदायले चेलिवेटी पुज्ने र पितृ पुजा गर्ने पर्वको रुपमा तीन दिनसम्म मनाउँछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button