पोखरामा चिडियाखाना निर्माण गर्न प्रदेश सरकारले पनि सहयोग गर्छ : मुख्यमन्त्री गुरुङ

दीननाथ बराल, पोखरा न्यूज – २९ , पुष । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले युनाइटेड क्लबले पोखरामा जुलोजिकल पार्क चिडियाखाना निर्माण गर्ने अभियानमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलवारदेखि पोखराको अमरसिंह चौरमा सुरु भएको १० औ संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले क्लबले थालनी गरेको चिडियाखाना निर्माण गर्ने अभियानमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन्।

उनले भने “ हामीले हाम्रो प्रदेशमा पर्यटनलाई आर्थिक विकासको मुल आधार मानेकोले यहाँ आगन्तुक पाहुनाको बसाई लम्बाउने गरी धेरै पर्यटकीय गन्तव्यहरु निर्माण तथा पहिचान गर्नुपरेको छ, यसको लागि क्लवले थालनी गरेको जुलोजिकल पार्क चिडियाखाना निर्माण गर्ने अभियामना बाँकी के कामका लागि सहयोग चाहिन्छ हामी तयार छौं । ”

पोखरा महानगरपालिका ३०, ३१ र ३२ नम्बर वडा स्थित बेगनासताल र रुपातालको बीच भागमा रहेको सामुदायिक वनमा पोखरा जुलोजिकल पार्क निर्माण कार्य भई रहेको छ । हाल उक्त क्षेत्रमा केही जंगली जनावरहरु रहेका छन् । क्लबको प्रयासमा जुलोजिकल पार्क निर्माणको काम थालनी हुनु आफैमा निकै प्रशंसनीय कार्य भएको उनले जनाए । उनले भने “ प्रदेश सरकारले पनि जुलोजिकल पार्क संगै गण्डकी प्रदेशमा ठूला पार्क, हजार जना अट्ने ठूला सेमिनार हल निर्माण गर्ने र बढी भन्दा बढी पर्यटक गण्डकी प्रदेशमा भित्र्याउने उद्धेश्यले अघि बढेको छ, क्लबले सुरु गरेको उक्त अभियानलाई हामीले समन्वय गरी अघि बढ्छौं । ”

देशको आर्थिक विकास र समृद्धिमा यस्ता मेला र महोत्सव आवश्यक भएको बताउदै उनले यस्ता मेला र महोत्सवले उत्पादन र नयाँ ज्ञान सिप दिने प्रकारका वस्तु तथा सेवासमेत दिन सक्नु पर्छ । ” पोखरा रामबजार निवासी शताब्दी पुरुष १ सय १ वर्षिय क्याप्टेन कुल बहादुर गुरुङ र ९९ वर्षिय माया गुरुङलाई सम्मान गरि महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले समाजमा रहेका ज्येष्ठ नागरिकलाई सम्मान गर्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका कार्यबहाक सदस्य सचिव राजेश कुमार गुरुङले पछिल्लो समय आफुले पोखरा रंगशाला निर्माणको जिम्मा लिएर रंगशालाको मुहार फेर्न सफल भएको जिकिर गरे । बाँकी केही काम हाल भइरहेको उनले जनाए । पोखरा महोत्सव आयोजना गरी क्लबले समाज परिवर्तनमा धेरै काम गरेकोले अन्य क्लब तथा संस्थाको लागि युनाइटेड क्लब प्रेरणाको श्रोत भएको कार्यवाहक सदस्य सचिव गुरुङले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष राम बहादुर कार्कीले क्लबको हरेक सामाजिक काममा वडाले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे । अमरसिंह माविका अध्यक्ष तेजश्वी वरालले अमरसिंह चौरमा विगत दश वर्षदेखी पोखरा महोत्सवको आयोजना गरी युनाइटेड क्लबले आफ्नो लक्ष्य र उद्देश्यलाई कहि कतै विचलन हुन नदिई आम जनसमुदायको मनमा बस्ने गरी सामाजिक कामलाई निरन्तरता दिएको बताए । क्लबका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको महासचिव शान्त बहादुर थापाले बताए । महोत्सव यही माघ १२ गतेसम्म चल्ने भएको क्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले बताए ।

यसअघि, महोत्सव पूव सन्ध्यामा पोखराको रंगशाला गेट देखी महोत्सव स्थल अमरसिंह चौर सम्म विभिन्न जातजातिको झांकी सहितको र्यालीको आयोजना गरिएको थियो । १५ वटा झांकी र १ सय ६६ वटा समूह र्यालीमा सहभागी भएको क्लबले जनाएको छ । उक्त र्याली तथा झांकीमा झांकी तर्फ राम बजार पुन समाज पोखरा प्रथम, डढुवा दुर्छा लम्जुङ तमु समाज द्धितिय, ताङतिङ दुधपोखरी तमु समाज तृतीय र बांझापाटन तमु समाज र ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

त्यसैगरी र्यालीतर्फ पाेंचोको तमु समाज प्रथम, जुरे भुमे तप्रे तमु समाज बाजापाटन १३ द्धितिय र मान्द्रेढुंगा आमा समुह पोखरा १४ तृतीय स्थान र लक्ष्मीटोल आमा समुह पोखरा १५ र भद्रकाली दिदीबहिनी समुह पोखरा १२ ले सान्त्वना स्थान हासिल गरेका छन । झांकी तथा र्यालीमा दुवै विधातर्फ प्रथम हुनेलाई नगद १५ हजार, द्धितियले १० हजार, तृतियले ५ हजार पुरस्कार प्रदान गरिएको छ । करिब दुई घण्टा जति झाँकी सहितको र्यालीले सडक यातायात केही समय प्रभावित भएको थियो । यद्यपि ट्राफिक प्रहरीले पृथ्बीराजमार्गमा केही समय खुल्ला गर्दै रोक्दै  यातायात आवागमन सहज पारेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button