पोखरामा नाटक ‘मेरो बचपनको साथी’ मञ्चन हुने

राजाराम पौडेल, पोखरा न्यूज -०१, माघ। नाटक ‘मेरो बचपनको साथी’ माघ १० गते पोखरामा मञ्चन हुने भएको छ । यो नाटकमा पोखराको बालकल्याण माध्यामिक विद्यालयका विद्यार्थीले अभिनय गर्नेछन् । नाटकलाई परिपक्कता प्रदान गर्न उनीहरुले रिहर्सल गरिरहेका छन् । आफुहरुको मेहनतका कारण नाटक राम्रो बन्ने उनीहरुको विश्वास छ ।

पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन हुने यो नाटकलाई सुदिप बाँस्तोलाले लेखेका हुन् । बाल मनोविज्ञानमा आधारित नाटक भएकोले यसलाई अभिभावकले हेर्नुपर्ने उनी बताउँछन् । अभिभावकले बाबुनानीको इच्छा विपरित अध्ययन गर्न लगाउँदा उनीहरुमा पर्ने मानसिक असर र त्यसले निम्त्याउने दुर्घटनालाई नाटक मार्फत देखाउन खोजिएको उनले बताए । झण्डै ४२ मिनेट अवधिको नाटकले बालबालिकालाई अरुसँग तुलना गर्न नहुने र उनीहरुको रुचि अनुसारको कार्य गर्न दिनुपर्ने सन्देश दिनेछ ।

पुष्पराज प्रसाद गुरुङको निर्देशनमा मञ्चन हुने नाटकमा विशेष गुरुङ, मेग्ना थापा, युनिष्ट थापा, आस्था विक, रितिका बराल, रिद गुरुङ, प्रज्वल गुरुङ, विनिता नेपाली, निकेश गुरुङ, धनराज गुरुङ, प्रतिक देवकोटा, मेलिना थापा, समिक्षा गुरुङ, प्रिन्स गुरुङ र अविश क्षेत्रीको अभिनय रहनेछ ।

निकेश गुरुङ ६ कक्षामा पढ्छन् । उनले पहिलोपटक नाटकमा अभिनय गर्दैछन् । यसले उनमा उत्साह थपेको छ । भविष्यमा कलाकार बन्ने सपना बुनेका उनी सन्देशमुलक नाटक भएको कारण सबैले हेनुपर्ने बताउँछन् । आफुले सकेको अभिनय गरेर दर्शकको मन जित्न उनले प्रयास गरिरहेका छन् ।

कक्षा ९ मा अध्ययनरत समिक्षा गुरुङले समेत पहिलोपटक नाटकमा अभिनय गर्दैछन् । कलाकार बन्ने बताउने उनी बाबुनानीको इच्छालाई अभिभावकले नबुझिदिँदा पर्ने असर नाटक मार्फत आफुहरुले देखाउन खोजेको उनले बताइन् । अभिनय गर्दा रमाइलो भइरहेको उनले सुनाइन् । ९ वर्षकी युनिसा थापाले पनि यो नाटकमा अभिनय गर्दैछन् । विद्यार्थीको भुमिकामानै देखिन लागेकी उनले पनि आफुले सकेको मेहनत गर्ने बताउँछिन् ।

कक्षा ९ मा अध्ययनरत अविश क्षेत्रीले नाटकमा अभिनय गर्ने मात्र नभएर अरु विद्यालयका नाटक हेर्न समेत पाउने भएकोले उत्साहित भएको बताए । कलाकारनै बन्ने लक्ष्य भएको बताउने उनी नाटकमा अभिनय गर्दा धेरै कुरा सिक्न पाउने बताउँछन् । कक्षा ८ मा अध्ययनरत मेलिना थापा सुरुमा केहि डर लागेको भएपनि अब विस्तारै डर हराउदै गएको बताउँछिन् । पहिलोपटक नाटकमा अभिनय गर्न लागेकोले उत्साहित बनेको उनले बताइन् । बच्चाको इच्छा अभिभावकले बुझ्नुपर्ने भएकोले नाटक अभिभावकले हेर्नुपर्ने उनले बताइन् ।

बालकल्याण माध्यामिक विद्यालयका प्राचार्य षडानन्द गौतमले विद्यार्थीहरुले नाटक राम्रो बनाउन निकै मेहनत गरिरहेको बताए । ‘बच्चाबच्चीको इच्छा विपरित बाबा ममी जानुँहुदैन, उनीहरुको इच्छालाई सम्मान गर्नुपर्छ, बच्चाको इच्छा नभएको विषयमा अभिभावकले जर्वजस्ती भर्ना गरिदिए विद्यार्थीले सफलता प्राप्त गर्न सक्दैन भन्ने सन्देश नाटकमा दिइएको छ’ उनले भने ।

पोखरा थिएटरको आयोजनामा पोखरामा महानगर स्तरिय विद्यालय नाटक महोत्सव २०७६ आयोजना हुँदा यसले पोखराको रंगमञ्चलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउने उनको भनाई छ । ‘बालबालिकामा भएको प्रतिभा प्रस्फुटन गर्न विद्यालय नाटक महोत्सव कोशेढुंगा सावित हुन्छ’ उनले भने । बालकल्याणमा नयाँ व्यवस्थापनको प्रिन्सिपलको जिम्मेवारी आफुले प्राप्त गरिसकेपछाडि रंगमञ्चतर्फ रुचि राख्नेको लागि कक्षा सञ्चालन गर्न थालेको उनले जनाए । यसले नयाँ पुस्ताको आर्कषण रंगमञ्चमा बढ्ने उनको विश्वास छ ।

विद्यालय नाटक महोत्सव माघ ६ देखि १४ गतेसम्म पोखरा थिएटरमा आयोजना हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । महोत्सव अन्र्तगत नाटक ‘मेरो बचपनको साथी’ माघ १० गते विहान साढे ११ बजे पहिलो सो हुनेछ । दिउँसो १ जे अन्र्तक्रिया गरिनेछ । फेरी २ बजे नाटक मञ्चन गरिनेछ । नाटक हेर्न विद्यार्थीलाई एक सय र अन्य सर्वसाधरणलाई दूई सय रुपैयाँ शुल्क लाग्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button