
पोखरा न्यूज । पोखरा न्यूज प्राइभेट लिमिटेडद्वारा सञ्चालित पोखरा न्यूज डटकमले स्थापनाको छैटौं वार्षिकोत्सव भव्य समारोहको बीच मनाएको छ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा प्रदेश सभा सदस्य बिन्दुकुमार थापा, दीपक कोइराला, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पत्रकारितालाई मानव जीवनबाट अलग राख्न नसकिने बताए । ‘यो एउटा चक्छु हो, आँखा दर्पण हो,’ उनले भने, ‘यसले व्यक्त गर्ने समाचारले समाजमा एउटा धारणा बन्छ । नयाँ युवा र प्रतिभाहरुलाई दिशानिर्देश गर्न सक्छ । राष्ट्र र राष्ट्रियताको सार्वभौमिकता रक्षा गर्नको लागि ठोस दृश्टिकोण दिन्छ ।’
सञ्चार माध्यमलाई राष्ट्रले र आम जनताले गौरवका साथ हेर्ने गरेको उनले सुनाए । प्रदेश प्रमुख शेरचनले पोखरा न्यूज डटकमद्वारा प्रकाशित समाचारकै कारण प्रधामन्त्रीद्वारा उद्घाटन गर्ने भनिएको मापदण्ड विपरित बनेको होटलको उद्घाटन रोकिएको भन्दै तारिफ समेत गरेका थिए ।
सोमबार साँझ लेकसाइडको कुटी रिसोर्टमा सम्पन्न भएको वार्षिकोत्सव समारोहमा बोल्दै सम्पादक गणेश बरालले अनलाइन सञ्चार माध्यमलाई पाठकको माँझमा विश्वसनिय बनाउँन आफूहरु लागि परेको बताए । पोखरा न्यूज डटकमप्रतिको पाठक विश्वासले नै आफूहरु यो स्थानसम्म आएको भन्दै उनले पोखरा न्यूज डटकमप्रति शुभेच्छा प्रकट गर्ने पाठक, शुभचिन्तक, विज्ञापनदातालाई आभार प्रकट गरे । सम्पादक बरालले, अतिथिहरुले दिएका प्रतिक्रियालाई शिरोधार्य गर्दै अघि बढ्ने र पाठकहरुमाँझ अझै विश्वसनिय बन्न प्रयत्न गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रदेश सभा सदस्य बिन्दु कुमार थापा, गण्डकीका अर्का सांसद, अर्थ तथा विकास समिति सभापति दीपक कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतले पोखरा न्यूज डटकमलाई छैटौं वार्षिकोत्सवको शुभकामना दिएका थिए ।
पोखरा न्यूज डटकमाका सह-सम्पादक दीनानाथ बरालले पोखरा न्यूजको आरोह अवरोहबारे प्रकाश पारेका थिए । पोखरा न्यूज प्रालि ले २०७१ देखि अनलाइन सञ्चालनमा आएको हो ।





