आइसिसी विश्वकप लिग दुई : नेपालले पायो १ सय ९८ रनको लक्ष्य

पोखरा न्यूज – २२ , माघ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमानविरुद्ध भइरहेको खेलमा नेपालले १९८ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङमा उत्रेको ओमानले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १९७ रन बनाएको छ । ओमानका लागि मोहम्मद नदिमले ६९(९६) रन बनाए भने सन्दीप गोउडले ३३(८२) रनको योगदान दिए ।

ओमानका कप्तान जेसन मक्सुदले पनि २०(४०) रन बनाउँदा नसीम खुशीले तेज २८(१८) रन बनाए । नेपालका लागि करन केसीले ४ विकेट लिँदा सुशन भारीले पनि उत्कृष्ट बलिङ गर्दै १० ओभरमा १४ रन मात्र खर्चंदै ३ विकेट लिन सफल भए ।

एक समय ५७ रनमा ५ विकेट गुमाइसकेको ओमानले उत्कृष्ट पुनरागमन गर्दै १९८ रन जोड्न सफल भयो । ओमानले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहका रुपमा पहिलो विकेट गुमाएको थियो । ओमानले छ दशमलव चार ओभरमा १९ रनको स्कोर छँदा दोस्रो विकेट गुमाएको थियो । तेह्रौँ ओभरको तेस्रो बलमा अकिब ल्यास व्यक्तिगत १६ रनको स्कोरमा रन आउट भए । त्यो बेला ओमानले ३९ रन बनाएको थियो ।

यस्तै सुशन भारीले खेलको १९औँ ओभरको चौथो र अन्तिम बलमा विकेट लिए । ओमानको स्कोर ५७ भएको अवस्थामा सुशनले जेशन मक्सुदलाई चौथो विकेटका रुपमा पवेलियन फर्काए भने टोलीको स्कोर ५७ रन भएकै अवस्थामा नेपाली मूलका ओमानका खेलाडी सुरज कुमारलाई पाँचौँ विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्लद्वारा ‘क्याच आउट’ गराए । सुशनले पुन: नेपाललाई ब्रेक थ्रु दिलाउँदै ३८औँ ओभरमा सन्दीप गौडलाई छैटौँ विकेटका रुपमा पवेलियन फर्काए । त्यसपछी भने मोहम्मद नदिमले एक छेउ सम्हाल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म डोहोर्याए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button