टर्कीमा हिमपहिरोले पुर्दा १४ उद्धारकर्मीसहित ३८ को मृत्यु

पोखरा न्यूज – २४, माघ ।   टर्कीको पुर्वी क्षेत्रमा हिमपहिरोले पुर्दा १४ उद्धारकर्तासहित ३८ जनाको मृत्यु भएको छ भने ७५ भन्दा बढी घाइते भएका छन् ।

मङ्गलबार साँझ पहिलो हिमपहिरो गएपछि उद्धारका लागि खटिएका उद्धारकर्ता नै बुधबार दोस्रो हिमपहिरोमा पुरिएपछि मृतकको संख्यामा ठूलो वृद्धि भएको हो । पहिरोमा अझै दर्जनौं जना पुरिएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मङ्गलबार साँझ खसेको एभेलेन्चमा पाँच जनाको मृत्यु भएको थियो भने कैयौं मानिस पुरिएको आंशका गरिएको थियो ।

पहिलो एभेलेन्च खसेपछि सो क्षेत्रमा १ सय भन्दा बढी उद्धारकर्ता खटिएका थिए । उद्धारकर्ता माथि नै दोस्रो हिमपहिरो खसेपछि १४ उद्धारकर्तासहित ३३ जनाको मृत्यु भएको जनाइएको छ । घटना टर्कीको भ्यान राज्य अन्तर्गतको इरानसँगको सीमा नजिकै भएको पनि जनाइएको छ । दोस्रो हिमपहिरो खसेपछि टर्की सरकारले त्यहाँ उद्धारकार्य स्थगित गरेको थियो ।

आज (बिहिबार) मौसमको अवस्था हेरेर उद्धारकार्य सुचारु गरिएको भ्यान राज्यका गभर्नरले बताएका छन् । उद्धारकार्यमा टर्कीको विपत् तथा आपत्काल व्यवस्थापन प्राधिकरणको नेतृत्वमा ७ सय भन्दा बढी उद्धारकर्ता खटिएको पनि उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button