पोखरामा पाहुनालाई सुकुटी फ्राई गर्दा करिब १ करोडको क्षति !

दीननाथ बराल, पोखरा न्यूज – २४ , माघ ।  पोखराको लेकसाइड स्थित अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जमा सुकुटी फ्राई गर्ने क्रममा आगो सल्किदा  करिब एक करोड मुल्य बराबरको क्षति भएको छ । रेष्टुरेण्टमा आगन्तुक पाहुनालाई खाजाको रुपमा सुकुटी फ्राई गर्ने क्रममा भाडाबाट निस्किएको  आगोको ज्वाला किचनमा फैलिएर  लागेको आगोले रेष्टुरेण्टमा करिब एक करोड भन्दा बढीको क्षति भएको बताइएको छ ।

सुकुटी फ्राई गर्ने भाडासहित किचनमा एकै पटक आगलागी भएसँगै किचनमा काम गर्ने कर्मचारी ज्यान बचाउन किचनबाट बाहिर निस्केका थिए । शुक्रबार मध्यान्न करिब १२ः३० बजेको समयमा किचनबाट सल्केको आगोले फलामको ट्रष्ट , प्लाई तथा काठबाट निर्माण भएको रेस्टुरेन्टको धेरै भागमा क्षति पुगेको  सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका प्रहरी हवल्दार सुर्यबहादुर केसीले पोखरा न्यूजलाई बताए ।

हल्लनचोक र खहरेको बिच भागको  भित्री गल्लीमा पर्ने रेष्टुरेण्टमा दमकल सहज ढंगले जान नसक्दा पनि धेरै क्षति हुन पुगेको स्थानीय गंगा गौतमले बताइन् । स्थानीयका अनुसार पोखरा महानगरपालिकाको दमकल आगोलागी भएको करिब ३० मिनेट पछि मात्र घटनास्थलमा पुगेको  थियो ।

दमकल जाने बाटो सहज नभएको कारण करिब २ सय मिटर जति पाइपको सहायताबाट आगोलाई नियन्त्रणमा लिइएको हो ।  आगलागी भएको करिब डेढ घण्टामा आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी यादब ढकालले पोखरा न्यूजलाई बताए ।

आगो नियन्त्रण गर्न रेस्टुरेन्टका कर्मचारी, स्थानिय, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाली सेनासहितको टोली खटिएको थियो । किचनबाट सल्केको आगो निभाउन तत्काल दमकल र स्थानियहरु एकजुट भएको भए तत्काल किचनमै आगो नियन्त्रण हुने सम्भावना रहेको एक कर्मचारीले बताए ।

रेस्टुरेन्टमा पेय पदार्थ र सिसा तथा हड्डीका धेरै भाडाकुडाहरु भएकाले छिटो आगो फैलिदा  धेरै क्षति पुगेको जनाइएको छ । फेवाताल किनारा देखि करिब एक सय मिटर भित्र पर्ने उक्त रेस्टुरेन्टका फर्निचर तथा फर्निसिङ सहितका केही सरसामानहरु स्थानीय तथा सुरक्षाकर्मीले बचाउन सफल भए ।

युवा उद्यमी किरण गुरुङले करिब २ बर्ष अघि ३ करोडको लगानीमा उक्त रेष्टुरेण्ट संचालनमा ल्याएका थिए ।

यो पनि पढ्नुहोस् :-

पोखराको अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जमा आगलागी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button