विश्व कीर्तिमान कायम गर्दै नेपालले अमेरिकालाई हरायाे

पोखरा न्यूज – २९ , माघ ।  नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाविरुद्ध कीर्तिमानी आठ विकेटको जित हात पारेको छ। अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको नेपालले विजय लक्ष्य १० ओभरमा दुई विकेट गुमाएर हात पार्‍यो।

विजयका लागि पूर्वकप्तान पारस खड्का २० रनमा र उपकप्तान दीपेन्द्रसिंह ऐरीले १५ रनमा नटआउट रहे। कप्तान ज्ञानेन्द्र मल्ल एक रनमा र सुवास खकुरेल शून्यमा आउट भएका थिए।

नेपालको कीर्तिमान

स्पिनर सन्दीप लामिछानेले छ र सुसन भारीले चार विकेट लिएपछि कीर्तिपुर मैदानमा आयोजित विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा अमेरिका ३५ रनमै समेटिएको थियो।

श्रीलङ्काले सन् २००४ मा जिम्बाब्वेलाई ३५ रनमा सीमित पारेर बनाएको कीर्तिमानको नेपालले बराबरी गरेको हो। तर जिम्बाब्वेले १८ ओभर खेलेको थियो भने अमेरिकाले १२ ओभर मात्रै खेल्यो। यो सबैभन्दा कम बलमा विपक्षी टोलीलाई आउट गरेको नयाँ कीर्तिमान हो।

आजको खेलमा लामिछानेले छ ओभर बलिङ गर्दै १६ रन दिएर छ विकेट लिए । यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो बलिङ हो। त्यस्तै भारीले तीन ओभरमा पाँच रन दिँदै चार विकेट लिए जुन नेपाली खेलाडीको तेस्रो राम्रो बलिङ हो।

अमेरिकाका लागि ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। यसअघि भएको अर्को खेलमा पनि नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो। तर ओमानसँग भएका दुवै खेलमा पराजित भएको थियो।

यो पनि पढ्नुहोस्  : आइसिसी विश्वकप लिग दुई : नेपाल ३५ रनले विजयी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button