डायमण्ड प्रिन्सेसमा कोरोना संक्रमितको सङ्ख्या १ सय ७५ पुग्यो

पोखरा न्यूज – २९ , माघ ।  कोरोना भाइरसको संक्रमणले पूरै क्वारेन्टाइनमा राखिएको डायमण्ड प्रिन्सेस पानीजहाजमा भाइरस संक्रमितको सङ्ख्या १ सय ७५ पुगेको छ ।

कोरोना भाइरसको संक्रमण भेटिएपछि फेब्रुअरी ३ तारिख देखि क्वारेन्टाइन्ड गरिएको छ । यस अघि १ सय ३६ जनामा भाइरस देखिएकोमा सो सङ्ख्या ३९ ले बढेर १ सय ७५ पुगेको हो ।

जहाजमा अझै पनि ३५ सय भन्दा बढी यात्रु र क्रु मेम्बर बन्धक झै बसिरहेका छन् । विश्वकै सबैभन्दा ठूलो मध्ये एक तथा प्रख्यात प्रिन्सेस क्रुजलाइनको उक्त पानीजहाजमा ११ सय क्रु मेम्बर र २७ सय ७० यात्रु गरी कुल ४ हजार जति यात्रु क्षमता रहेको जनाइएको छ ।

भाइरस संक्रमित मध्ये एक जना क्वारेन्टाइन अफिसरसमेत रहेको जनाइएको छ । उनी फेब्रुअरी ३ देखि जहाजमा खटिएका थिए । भाइरस संक्रमण पुष्टि भएकाहरुलाई टोकियोका विभिन्न अस्पतालहरुमा भर्ना गरिएको छ ।

फेब्रुअरी १९ मा जहाजको क्वारेन्टाइन मिति सकिने जनाइएपनि भाइरस संक्रमणमा वृद्धि भए यात्रुहरुले अझ लामो समय जहाजमै बिताउनु पर्न सक्ने जापानी अधिकारीहरुले जनाएका छन् ।

जहाजमा रहेका मध्ये ८० प्रतिशत यात्रुहरु ६० वर्ष वा सो भन्द बढी भएकाले पनि संक्रमण दर उच्च भएको जनाइएको छ । जहाजमा २ सय १५ जनाको उमेर ८० भन्दा ज्यादा तथा ११ जनाको उमेर ९० भन्दा बढी रहेको पनि जनाइएको छ । एक चिनियाँ अध्ययनले कोरोना भाइरसको मृत्यु दर वृद्धवृद्धामा उच्च रहेको देखाएको थियो ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले हालसम्म ११ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको सङ्ख्या ४५ हजार नाघिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button