ढोरपाटन डबल लिग भलिबलको उपाधि एपिएफलाई

पोखरा न्यूज – २९ , माघ । प्रतियोगिताभर अपराजित रहँदै सशस्त्र प्रहरी बलको टोलीले ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि रक्षा गरेको छ ।

आज भएको लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि पक्का गरेको हो । लिगको पहिलो र दोस्रो स्थानमा रहेका एपिएफ र प्रहरीबीचको खेलले नै प्रतियोगिता विजेताको टुङ्गो लगाउने भएपछि अन्तिम खेल फाइनल सरह नै भएको थियो । तर खेलमा पुलिस क्लबले राम्रो प्रदर्शन गर्न नसके पछि एपिएफले सहज जीत हासिल गर्दै उपाधि रक्षा गर्न सफल भयो ।

एपिएफले तीन सेटको खेल २५-२१, २५-२१ र २५-१९ ले जित्दै ३-० को सोझो सेटमा जीत निकाल्यो । जीतपछि एपिएफले १४ खेलबाट कुल ४१ अङ्क जोड्दा पुलिस क्लब ३७ अङ्कमा सीमित भयो । आजै भएको पहिलो खेलमा न्यु डायमण्डलाई ३-० कै सोझो सेटमा पराजित गर्दै अर्को विभागीय टोली आर्मीले तेस्रो स्थान हासिल गर्यो । टोली ३० अङ्क जोडेर तेस्रो स्थान प्राप्त गर्दा न्यु डायमण्ड स्पोर्ट्स क्लब चौथो तथा चितवन टाइग्रेसले पाँचौ तथा बुल्बुले रारा भलिबल क्लबले छैटौं स्थान प्राप्त गरे ।

प्रथम स्थानको एपिएफले ४ लाख ५ हजार नगद, द्वितीय हुने पुलिस क्लबले २ लाख ५ हजार, तेस्रो हुने आर्मीले १ लाख ५ हजार तथा चौथो स्थानको न्यु डायमण्डले ७५ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै पाचौं टोली चितवन टाइग्रेसले ५५ हजार तथा छैटौं टोली राराले ३५ हजार नगद जिते । १० टोली सम्मिलित प्रतियोगिता १६ गते देखि शुरु भएको थियो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button