चीनबाट ल्याउनेहरुलाई भक्तपुरको खरिपाटीमा राखिने : खरिपाटीबासीले भने गाउँ छोड्न थाले

काठमाडौं । सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोबल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन् ।

चीनको हुबेई प्रान्तको वुहानबाट एक सय ८० भन्दा बढी नेपालीलाई स्वदेश ल्याई खरिपाटीस्थित विद्युत् तालिम केन्द्रलगायत स्थानमा क्वारेन्टाइनमा राख्ने भएपछि रोग सर्ने डरले बसाइँ सर्न लागेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार डेरामा बस्ने धेरै परिवार डेरा छाडेर सरिसकेका छन् ।

उद्धार गरिएका नेपाली त्यहाँ राख्न ल्याउने निश्चित भएसँगै उनीहरू क्वारेन्टाइनमा राखिएकाहरू घर फर्किएपछि मात्रै फर्किने भन्दै गाउँतिर फर्किएका हुन् ।

स्थानीय लक्ष्मण काफ्लेले घर भएकाहरूसमेत बसाइँसराइको योजनामा रहेका बताउँछन् ।

‘हामी पनि बसाइँ सर्न चाहन्छौं तर डेरामा बसेकालाई जस्तो सजिलो भने छैन,’ उनले भने, ‘गाईबस्तु पनि छन्, तिनलाई कहाँ राख्ने भन्ने चिन्ता छ ।’

क्वारेन्टाइन राख्ने भनिएको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् तालिम केन्द्र आसपास सयभन्दा बढी घर छन् ।

सरकारले साता दिनअघिबाटै प्रहरी टोली खटाएर उद्धार गरिएकालाई त्यहीं राख्ने तयारी गरिरहेको छ । यसकारण अहिले त्यो विद्युत् तालिम केन्द्रको गेटदेखि नै प्रहरी राख्ने व्यवस्था गरिएको समाचार नागरिक दैनिकमा छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button