पर्वतमा हालसम्मकै ठूलो ८० किलोको खुकुरी !

पोखरा न्यूज – ०७ ,फागुन । पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका हुन् । ३ महिनाको अवधिमा उनको नेतृत्वमा ४  जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूलो सो खुकुरी तयार गरेको हो । असी किलोको खुकुरीको अग्लाइ साढे १० फिटको रहेको छ । गत मङ्सिर ४ गतेदेखि खुकुरी बनाउन शुरु गरी माघ २९ गते सम्पन्न भएको उनले जानकारी दिए ।

सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले ३ महिनाको अवधिमा निर्माण भएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा प्रदर्शनीमा राखिएको छ । उनले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएक छन् । खुकुरीलाई चासो र जिज्ञासाको साथ अवलोकन गरी फर्कने गरेको रेडियोका दिदी बहिनीका अध्यक्ष कल्पना चापागाईंले जानकारी दिइन ।

महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ । खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ । “तीन वर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हुँ, नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ”, निर्माणकर्ता सुनारले भने ।

उनका अनुसार खुकुरी निर्माणमा रु २ लाख खर्च भएको छ । सामान खरिद र ४ जनालाई ३  महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएको जानकारी दिए । पुख्र्यौली रूपमा आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आएका छन् । उनले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हातहतियार र औजार सामग्रीलाई समेत बिक्री वितरणका लागि प्रदर्शनीमा राखेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button