कमिशन मागेको अडियो भाइरल : सञ्चारमन्त्रीलाई बर्खास्त गर्न काँग्रेसको माग

पोखरा न्यूज – ०८ ,फागुन । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदको विषयमा कमिशन माग्दै गरेको आशयको अडियो भाइरल भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँस्कोटालाई बर्खास्त गरेर अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई नै आग्रह गरेका हुन् । ‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काँग्रेस सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस अघि स्वीस कम्पनीका एजेन्ट भनिएका विजय प्रकाश मिश्र शर्मासँग सञ्चारमन्त्री बाँस्कोटाले गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो । सार्वजनिक अडियोमा बाँस्कोटाले २७ अर्बको प्रोजेक्टमा आफुहरुलाई कति आउने भनेर स्पष्ट सोधेका छन् । उत्तरमा शर्माले आउट अफ ट्र्याक नजाँदा पनि कुल ७७ जति आउने तथा दुई जनाबीच ७० प्रतिशत र ३० प्रतिशतले बाँडफाँड गर्ने जवाफ दिएका थिए ।

संवादको अन्तिमतिर बाँस्कोटाले कर्मचारीलाई संलग्न नगराउनु भन्दै शर्मा आफैलाई कुरा गर्न पनि निर्देशन दिएको सुन्न सकिन्छ । कर्मचारीलाई मु** जस्ता अपशब्द प्रयोग गरेका बाँस्कोटाले कर्मचारीलाई संलग्न गराए उनीहरुले हेप्नी भनेको पनि अडियोमा सुन्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button